चितवन, साउन २ गते ।
अघिल्ला केही आर्थिक वर्षदेखि घट्न थालेका सडक दुर्घटना चितवनमा फेरि बढेको छ । सडक दुर्घटनाकै कारण मानवीय क्षतिको संख्या पनि बढेको जिला ट्राफिक प्रहरी कार्यालय, चितवनको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार गत आर्थिक वर्षमा भएका ४ सय ४५ सवारी दुर्घटनामा परेर १ सय १५ जनाले ज्यान गुमाएका छन् भने १ सय ५० जना गम्भीर घाइते र ६ सय ८२ जना सामान्य घाइते भएका छन् । अघिल्लो वर्ष सवारी दुर्घटनामा ४४.३ प्रतिशतले कमी आएको भए पनि गत आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या ह्वात्तै बढेको हो ।
आर्थिक वर्ष ०७९÷०८० सवारी दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो । ३ सय ३ वटा भएको सडक दुर्घटनाबाट मानवीय क्षतिलाई केही हदसम्म कमी गर्न सफल भएको भन्दै त्यसलाई प्रहरी अधिकारीहरुले ठूलो सफलताका रुपमा लिएका थिए ।
तर, आर्थिक वर्ष ०८०र८१ मा उक्त संख्या घट्नुको साटो झनै बढेको तथ्यांकले देखाएको हो । तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा सबैभन्दा बढी दुर्घटना आर्थिक वर्ष ०७८र७९ मा भएको थियो । त्यतिबेला चितवनमा ५३० सवारी दुर्घटना हुँदा १४० जनाले ज्यान गुमाएका थिए ।
आर्थिक वर्ष २०७९÷०८० मा जम्मा ३ सय ३ सवारी दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा ५ सय ३० वटा सवारी दुर्घटनाका घटनामा १ सय ४० जनाको मृत्यु भएको थियो भने, ९ सय ७१ जना घाइते भएका थिए ।
सबैभन्दा बढी दुर्घटना जेठ महिनामा
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार गत आर्थिक वर्षको जेठ महिनामा सबैभन्दा बढी सडक दुर्घटना भए । जेठमा मात्रै ६५ वटा दुर्घटना भएको प्रहरी तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको साउनमा ४, भदौमा ६, असोजमा ५, कात्तिकमा ९, मंसिरमा १३, पुसमा १४, माघमा ९, फागुनमा १०, चैत्रमा १५, वैशाखमा १३, जेठमा १०, असारमा ७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गत वर्ष सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा २ पांग्रे सवारीसाधन छ । कुल सडक दुर्घटनामध्ये मोटरसाइकलमात्रै ३६० वटा भएको चिवन ट्राफिक प्रहरी प्रमुख सुरेश सुवेदी बताउँछन् । उनका अनुसार गत आर्थिक वर्षमा ५२ वटा, टिपर, ट्रक र ट्यांकर ६१, जिप, कार ८३, माइक्रोबस ७ वटा दुर्घटना भएका थिए ।
दुर्घटनाको कारण चिल्लो सडक !
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीका अनुसार पछिल्लो समय चितवनमा सडक दुर्घटना बढ्नुको कारण नै सडकले पूर्णता पाउनु हो । धेरैजसो निर्माणाधीन सडकले पूर्णता पाएर चिल्लो सडक हुँदा सवारीको गति पनि बढेको र त्यसले दुर्घटना निम्त्याएको उनको भनाइ छ ।
मापसे गरेर सवारी चलाउने संख्या पनि बढ्दा दुर्घटनाको संख्या थपिएको हुन सक्ने सुवेदी बताउँछन् । अर्कोतिर, भित्रि सडकमा समेत पिच भएका, सवारीहरु साधनमा सबैको पहुँच हुँदा दुर्घटनाका घटना बढेको उनले सुनाए ।
राजमार्गमा कति भए दुर्घटना ?
गत आर्थिक वर्षमा पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ९६ वटा सवारी दुर्घटना भए । जसबाट २६ जनाको ज्यान गएको छ भने २ सय ५ जना घाइते भएका छन् ।
नारायणगढ मुग्लिन सडकखण्डमा ५५ दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १ सय ५१ जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा मुग्लिनदेखि फिस्लिङसम्म १८ दुर्घटना हुँदा १० जनाको मृत्यु र ६२ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन ।
सहरी सडकखण्डमा २६ दुर्घटना हुँदा ८ जनाको मृत्यु हुँदा २६ जना घाइते भएको तथ्यांक छ । गत आर्थिक वर्षमा भएका सडक दुर्घटना अधिकांश भित्री र सहायक सडकमा भएका छन् । प्रहरी तथ्यांकअनुसार भित्री सडकमा भएका २ सय ५० वटा सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको छ भने, ३ सय ८२ जना घाइते भएका छन् ।
त्यसभन्दा अघिको आर्थिक वर्षमा भित्री तथा सहायक सडकमा १ सय ४१ दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको थियो । हरेक वर्ष राजमार्गभन्दा पनि बढी सवारी दुर्घटना भित्री सडकमा हुने गरेको देखिएको प्रहरीको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीका अनुसार चितवनमा प्रहरीले ५ खण्ड गरेर सवारी दुर्घटनाको तथ्यांकको विष्लेषण गर्ने गरेको छ ।
पूर्व–पश्चिम राजमार्ग, नारायणगढ मुग्लिन सडक खण्ड, पृथ्वी राजमार्ग, शहरी सडक र अन्य भित्री सडक भनेर दुर्घटनाको प्रकृति, संख्या कारणको हेर्ने गरिएको चितवनका ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताए ।
राष्ट्रिय राजमार्गभन्दा पनि बढी दुर्घटना र मृत्यु तथा घाइते भित्री सडकमा हुने गरेको ट्राफिक प्रहरी प्रमुख सुवेदी बताउँछन् । ‘यो निकै चुनौतीपूर्ण बनेको छ, राजमार्गमा सवारी चलाउँदा सचेत बन्ने तर भित्री सडकहरुमा सवारी चलाउँदा लापरवाही गर्ने, हेल्मेट नलगाउने, तीव्र गतिमा चलाउने आदि कारणले दुर्घटना बढेका छन्’, सुवेदी भन्छन्, ‘कतिपयले भर्खरै भर्खरै सिकेर पनि भित्रि सडकमा चलाउँदा दुर्घटना हुने गरेको छ ।’
विगत ५ वर्षको तथ्यांकलाई हेर्दा भित्री सडकमा हुने दुर्घटनाको संख्या, मृत्यु र घाइतेको संख्या अन्य सडकखण्डमा भन्दा बढी देखिएको हो । दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश पुरूष छन् । गत वर्ष सवारी दुर्घटनामा ज्यान गुमाउने ११५ जना मध्ये ९२ जना पुरुष, ९ जना महिला र ४ जना बालक छन् ।
अघिल्लो वर्ष ६६ जना पुरुष, ७ महिला, २ बालक र ३ बालिकाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । २० देखि ४० वर्ष उमेर समुहका व्यक्ति बढी दुर्घटनामा पर्ने गरेको तथ्यांकले देखाउँछ ।
सवारी कारबाही बढ्दा घट्यो राजश्व
चितवनमा गत वर्ष ४१ हजार भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा ४१ हजार ९९८ सवारी साधन कारबाहीमा परेका हुन् । उनीहरूबाट ३ करोड ७ लाख ६७ हजार ५ सय राजश्व संकलन गरिएको छ ।
गत वर्ष कारर्वाहीको संख्या बढाए पनि राजश्व संकलनमा भने निकै कमी आएको छ । गत वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा ३७ लाख ७१ हजार कम राजश्व संकलन भएको छ । अघिल्लो वर्ष ४० हजार ६ सय ६४ सवारीलाई कारर्वाही गर्दा ३ करोड ४५ लाख ३८ हजार ५ सय राजश्व संकलन भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले अघिल्ला अघिल्ला वर्षमा ट्राफिकले आफूलाई लागे अनुसारको जरिवाना लिने गरेकोमा गत वर्षदेखि सरकारले तोकिदिएको मापदण्डका आधारमा जरिवाना लिन थालेको बताए ।
‘पहिलोपटक कारर्वाहीमा परेकोलाई ५ सय रुपैयाँ दोस्रोपटक हजार र तेस्रोपटक १५ सय लिने व्यवस्था छ, हामी चाहेर बढि लिन सक्दैनौं, तर पहिलापहिला लिने चलन थियो’,सुवेदीले भने, ‘अहिले सवारी साधान र लाइन्सेसका आधारमा कारबाही गरिन्छ, एउटै लाइन्सेस र एउटै सवारीले अर्कोपटक गल्ती गरे जरिवाना बढ्दै जान्छ, अनि राजश्व पनि बढ्छ ।’
गत वर्ष सबैभन्दा बढी मोटरसाइकलबाट १ करोड ६ लाख १६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको छ । ट्रक तथा टिपरबाट ५७ लाख १४ हजार ५ सय राजश्व संकलन भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा ट्रक तथा टिपरलाई कारबाही गरेर ७१ लाख ५४ हजार राजश्व संकलन भएको थियो । बस तथा माइकोबाट गत वर्ष ३६ लाख ८६ हजार, जिप कारबाट ५८ लाख ७३ हजार, ट्याक्टरबाट ११ लाख ६० हजार, टेम्पो लगायतका अन्य सवारीबाट ३७ लाख १८ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।
मापसे गरेर सवारी चलाउने बढे
जिल्लामा मापसे गरेर सवारी चलाउनेहरुको संख्या भने ह्वात्तै बढेको छ । अघिल्लो वर्ष ४ सय ६१ जनालाई मापसेमा कारबाही गरिएकोमा गत वर्ष १ हजार २ सय १९ जनालाई कारवाही गरिएको छ । मापसे गर्नेहरुबाट १२ लाख १९ हजार राजश्व संकलन गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष ४ सय ६१ जनालाई मापसे कारबाही गर्दा ४ लाख ६१ हजार राजश्व संकलन गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ७ सय ३९ जना मापसेको कारबाहीमा परेका थिए । जिल्लामा मापसे चेक गर्न मिल्ने एउटा मात्रै मेसिन छ । अरु थप ४ वटा मेसिन बिग्रिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा दरबन्दीका ३१ र बाँकी काजमा गरेर ७७ जना ट्राफिक प्रहरीले काम गरिरहेका छन् ।