काठमाडौं । नबिल स्कूल अफ सोशल इन्ट्रप्रेनरशिप (एसएसई) कार्यक्रममार्फत चार वर्षमा १२ सयभन्दा बढीले रोजगारी पाएका छन् । बैंकले आफ्नो सामाजिक उतरदायित्व (सीएसआर) प्रोग्राम अन्तर्गत रहेर एसएसई कार्यक्रम सञ्चालन गरिरहेको छ । सन् २०२५ सम्ममा आइपुग्दा बैंकले यस कार्यक्रम अन्तर्गत चारवटा फेलो कार्यक्रम सम्पन्न गरिसकेको छ । जुन फेलो कार्यक्रममार्फत हालसम्म ५६ जना विद्यार्थीले उद्यमका लागि फेलो पाइसकेका छन् ।
बिहीबार राजधानीमा एक विशेष कार्यक्रम गर्दै बैंकले एसएसई प्रोगामको चौथो ब्याचसम्म आइपुग्दा ५६ जनालाई फेलो प्रदान गरिनुका साथै देशका विभिन्न स्थानमा गरी ४५ वटा उद्यमहरु स्थापना गरिएको जनाएको छ । जसबाट १२ सय भन्दा बढी युवाहरुलाई रोजगारी प्रदान गरिएको बैंकले जनाएको हो ।
नबिल एसएसई चौथो ब्याजको कार्यक्रममा नबिल बैंकका निर्देशक निर्वाण चौधरीले बैंकले युवाहरुलाई उद्यमी बनाउने मात्र नभएर बैंकले स्वरोजगार र उद्यममार्फत देशको अर्थतन्त्रको विकासमा नै बैंक लागि परेको बताए ।
चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘यो एउटा सामाजिक उत्तरदायित्वको कार्यक्रम मात्र होइन, देशकै अर्थतन्त्र बनाउने कार्यक्रम हो । जुन लक्ष्यमा नबिल बैंक र सिंगो ग्रुपनै लागिरहेको छ ।’
नबिल एसएसई सर्टिफिकेट कोर्स नेपालका सातै प्रदेशमा सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको छ । यो कार्यक्रमले उद्यमी, विद्यार्थी, परिवर्तनकारी सोच भएका र उध्यमशिलता बिकासमा टेवा पुर्याउन चाहने व्यक्तिहरूलाई व्यवहारिक सीप प्रदान गर्दछ ।
सर्टिफिकेट कोर्सका मुख्य विशेषताहरूमा तीन महिनाको अवधिमा १४ दिनको अन्तरक्रियात्मक तालिम समावेश छ, जसले सहभागीहरूलाई व्यावसायिक सीप र ज्ञान विकास गर्न सहयोग पुर्याउँछ । यो कार्यक्रम सातै प्रदेशका ११ प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग सहकार्यमा सञ्चालन भइरहेको छ । तालिम पश्चात, सहभागीहरूले व्यावसायिक सोच र बैंकमा प्रस्तुत गर्न योग्य व्यवसायिक योजना तयार पारेर कोर्स पूरा गर्ने अवसर पाउँछन् ।
बैंकका अनुसार यस कार्यक्रम अन्तर्गत हालसम्म ५१८ जनाले कोर्स पूरा गरेका छन् भने २२६ जनाले कोर्समा सहभागी हुँदै ७२ उद्यमहरू स्थापना भएका छन् ।
यस कार्यक्रम अन्तर्गत बैंकले देशमा विभिन्न स्थानबाट युवाहरुको आवेदन माग गर्छ । प्रत्येक महिनाको तीन–दिने आवासीय तालिम प्रदान गरिन्छ । जसले सहभागीहरूको व्यक्तिगत र व्यवसायिक क्षमताको विकास गर्छ ।
सहभागीहरूले एक वर्षसम्म अनुभवी मेन्टरहरूसँग मार्गदर्शन प्राप्त गर्ने अवसर पाउँछन् । २० प्रतिबद्ध उद्यमीहरूको आवेदनको गहन मूल्यांकन र अन्तरवार्तापश्चात छनोट प्रक्रिया सम्पन्न गरिन्छ । यस कार्यक्रममा अनुभवी प्रशिक्षकहरूद्वारा सत्रहरू सञ्चालन गरिन्छ, जहाँ सफल उद्यमीहरूको अनुभव साटासाट, कार्यशाला, र भ्रमणहरू समावेश गरिन्छ, जसले सहभागीहरूलाई व्यावसायिक वातावरणको गहिरो बुझाइ दिन मद्दत गर्ने बैंकले जनाएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत साना साना पुँजीलाई परिचालन गरेर देशमा उद्यमी र रोजगारीको सिर्जना गर्न लगाएको बताए । उक्त कार्यक्रम आफुहरुले छिमेकी मुलुक भारतका बैंकहरुबाट सिकेको बताउँदै सीईओ ढुंगानाले मुलुकको आर्थिक उपार्जन र रोजगारी सिर्जनमा केन्द्रित नबिल एसएसई कार्यक्रम सफल भएको बताए ।