काठमाडौँ – सहकारी ठगी कसुरमा चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दियो ।
न्यायाधीश दयाराम ढकालको एकल इजलाले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो
अदालतको आदेशपछि लामिछाने धरौटी बुझाएर रिहा भइसकेका छन् । न्यायाधीश ढकालको इजलाले उनलाई धरौटी माग गर्नुको कारणबारे आदेशमा उल्लेख गरेको छ ।
जसमा रविले चेक काटेको स्वीकार गरेकोदेखि गोर्खा मिडियाको सेयर सदस्यसम्म रहेको विषयहरूलाई आधार मान्दै अहिल्यै निर्दोष भन्न नमिल्ने उल्लेख गरेको छ ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो।
कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको थियो।