काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाइएको छ । बुधबारबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउन आदेश गरेको हो ।
जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा लगाइएको हो । यसअघि रुपन्देही अदालतले भने उनलाई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा छोडेको थियो ।
जबकी चितवनको जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि संगठित अपराधमा मुद्दा दर्ता गर्न सक्ने आधार नभएको भन्दै सहकारी ठगीको आरोपमा कमजोर खालको मुद्दा दर्ता गरेको थियो ।
साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको आजबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै आजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो ।