काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापनमा गठित व्यवस्थापन समितिले काम थालेको छ । नेपाल राष्ट्र बैंकको यहीँ पुस १० गते यस बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । सो लगत्तै राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसी उक्त समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापनका लागि तीन सदस्यीय व्यवस्थापन समूह गठन गरी जिम्मेवारी तोकिएको थियो ।
सोही समूहले बैंकको सम्पत्ति र दायित्व आफ्नो जिम्मामा लिई वित्तीय हिसाब–किताब चेकजाँच गर्न शुरु गरिसकेको शुक्रबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । सो कार्य सम्पन्न गर्न केही समय लाग्ने हुँदा २०८१ पुस १४ गते (आइतबार) सम्मका लागी कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण बैंकिंङ्ग कारोवार स्थगित गरिएको व्यवस्थापन समितिले जनाएको छ ।
निक्षेप रकम भुक्तानी र नियमित बैंकिङ्ग कारोवार सञ्चालन प्रयोजनार्थ बैंक तथा वित्तीय संस्था लगायत सम्बन्धित अन्य पक्षहरुसँग विभिन्न विकल्पहरुमा निरन्तर छलफल भई रहेको व्यहोरा समेत समूहले जनाएको छ ।
उपलब्ध सम्पुर्ण उपायहरु अवलम्बन गरी यथाशिघ्र तोकिए अनुसार निक्षेपकर्ताबाट भुक्तानी माग भए बमोजिम क्रमशः भुक्तानी गर्दै जानुका साथै, सम्पूर्ण बैंकिंङ्ग कारोवारहरु सोही अनुसार यथाशिघ्र नियमित गरिने व्यहोरा समेत समूहले सबैमा जानकारीका गराएको छ।