काठमाडौं । नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिवद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो ।
द्धिपक्षीय व्यापार प्रवर्द्वन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे। नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउनुहुँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उनले बताए ।
प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यवसायिक वातावरण बनाउँदै लगिएको बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधै तत्पर रहेको बताए । साथै उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवद्र्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको प्रसंशा पनि गरे ।
चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुइ देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताए। नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने उनले बताए ।
सिसिपिआइटीको मुख्यालय बेइजिंगमा बुधबार आयोजित समिटलाइ सम्बोधन गर्दै चिनिया वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने बताए।
चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउनुहुँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने बताए । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने उनले बताए ।
चीन नेपालमा सबैभन्दा बढि लगानीको प्रतिवद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो मुलुक हो ।
उनले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताए । यसैगरी, उनले नेपालबाट बढिभन्दा बढि वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताए ।
यो समिटको दोस्रो संस्करण हो । महासंघ र सिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक बर्षको अवधिमा व्यवसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराए। महासंघको आग्रहमा सरकारले लगानी सम्बन्धी आठवटा कानुन संशोधन गरेको छ, सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘यसैगरी द्धिपक्षीय लागनी सम्झौताको खाका पनि तयार भएको छ ।’
यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिंग भएको र उक्त रेटिंग दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि उनले गराए । यसले लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनले बताए ।
