काठमाडौं। अन्ततः कतार एयरवेज पनि दोहा–भैरहवा, भैरहवा–दोहा उडान गर्न तयार भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तोरन्नोतीका कारण दैनिक १० घण्टा फ्लाइट रोकिने भएपछि धमाधम अन्तर्राष्ट्रिय उडानहरु भैरहवा स्थानान्तरण भइरहेका बेला पछिल्लो समय कतार एयरवेज पनि भैरहवा डाइभर्ट हुन तयार भएको हो ।
कतार एयरवेजले नोभेम्बर १२ (कात्तिक २७) देखि दोहा–भैरहवा उडान गर्ने भएको छ ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतार एयर एयरवेजले दोहा–भैरहवा उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग उडान अनुमति मागेको छ । उक्त वायुसेवाले हप्तामा सातै दिन उडान गर्नेगरी अनुमति मागेको हो ।
प्राधिकरणले उडान अनुमति दिए कतार एयर एयरवेजले यही आउने मंगलबारदेखि दोहा–भैरहवा उडान गर्नेछ । यता नागरिक उड्यान प्राधिकरणले मंगलबारदेखि नै उडान गर्नेगरी कतार एयरवेजलाई अनुमति दिने तयारी गरिरहेको जनाएको छ ।
भैरहवाबाट यही कार्तिक १८ गतेदेखि थाइ एयर एसिया, जजिरा एयरवेज, फ्लाइ दुबई र नेपाल वायुसेवा निगमले व्यवसायिक उडान थालेका छन् । थप कतार एयरवेज समेत थपिने भएपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान भर्ने फ्लाइटको संख्या ५ पुगेको छ ।