९ असार, काठमाडौं – संघीय संसद् आजदेखि मन्त्रालयगत बजेट बहसको निर्णायक चरणमा प्रवेश गर्दैछ। प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज क्रमशः बिहान ११ बजे र दिउँसो १:१५ बजे बस्ने तय भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत १९ वटा मन्त्रालयका बजेटमाथि गहन छलफल हुने छ। छलफलका क्रममा उठ्ने जिज्ञासामा संबन्धित मन्त्रीहरूले प्रत्यक्ष रूपमा जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज छलफल हुने मुख्य मन्त्रालयहरू: वन तथा वातावरण मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रक्षा, कानुन, युवा तथा खेलकुद, शिक्षा, परराष्ट्र लगायतका मन्त्रालय यसका अतिरिक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, गृह, खानेपानी, श्रम तथा सामाजिक सुरक्षा, भूमि व्यवस्था, विज्ञान तथा प्रविधि, उद्योग वाणिज्य आपूर्ति, र सहकारी तथा गरिबी निवारण मन्त्रालयका बजेटमाथि पनि सांसदहरूले उठाउने प्रश्नको जवाफ दिने जिम्मेवारी आज मन्त्रीहरूले वहन गर्नेछन्। आज दिउँसो १:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्नेछन्। साथै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयक, २०८१ माथिको विचार प्रस्ताव पनि सदनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।