+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

इरानमाथिको अमेरिकी आक्रमणपछि शासन परिवर्तन बहस चर्कियो

जनवाच
३ घण्टा अगाडी

९ असार, काठमाडौं – इरानका तीन मुख्य परमाणु केन्द्रमा अमेरिकाले गरेको हवाई आक्रमणपछि इरानको सत्ता परिवर्तन सम्बन्धी बहस फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेका टिप्पणीहरूले बहसलाई थप उचाइमा पुर्‍याएको छ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल (Truth Social) मा लेख्दै इरानको वर्तमान नेतृत्वले देशलाई “महान” बनाउन नसक्ने दाबी गर्दै शासन परिवर्तन आवश्यक हुनसक्ने संकेत गरेका छन्। उनले लेखेका छन्, “शासन परिवर्तन (Regime change) अहिलेको राजनीतिक भाषामा लोकप्रिय छैन, तर इरानलाई फेरि महान बनाउन सक्ने हैसियत मौजुदा सरकारसँग छैन भने किन नहोस् शासन परिवर्तन?”

ट्रम्पले थप चर्चा उत्पन्न हुनेगरी ‘MIGA’ भन्ने शब्द पनि लेखेका छन्, जसको अर्थ हो, Make Iran Great Again इरानलाई फेरि महान बनाऔं जुन उनका चर्चित नाराजस्तै लाग्ने ‘Make America Great Again’ को इरानी संस्करण हो।

इरानमा १९७९ मा इस्लामिक क्रान्तिपछि राजतन्त्रको अन्त्य गरिँदै पेरिसमा निर्वासित जीवन बिताइरहेका आयातुल्लाह रुहोल्लाह खामेनीको नेतृत्वमा इस्लामिक गणतन्त्र स्थापना गरिएको थियो। उनीपछि सन् १९८९ मा अली खामेनी इरानको सर्वोच्च नेता बनेका थिए, जो आजसम्म सत्तामा छन्।

भारतीय विश्वविद्यालय जवाहरलाल नेहरू विश्वविद्यालय अन्तर्गत वेस्ट एसियन स्टडिज विभागका प्राध्यापक एके महापात्राका अनुसार, अमेरिकी आक्रमणको मूल उद्देश्य परमाणु कार्यक्रम मात्रै होइन, खामेनी शासनको अन्त्य पनि हो। ट्रम्पको टिप्पणीले यसैको संकेत दिएको उनले बताए।

शनिबार राति अमेरिका र इजरायलको सहकार्यमा इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रमा अत्याधुनिक बंकर बस्टर बम खसालिएको थियो। यी हमलाबाट केन्द्रहरूमा ठूलो क्षति पुगेको बताइएको छ।

इरानी सरकार भने अमेरिकाको कारबाहीको प्रतिवाद गर्ने मनस्थितिमा देखिएको छ। इरानले अमेरिकी र इजरायली आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ