+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

गृहमन्त्रीको राजीनामा माग संसद अवरोधको बहाना मात्र हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति संसदमा अवरोधक राजनीतिप्रति आक्रोश मात्र होइन, सत्ता सन्तुलनको नया खाका पनि हो।

जनवाच
१ दिन अगाडी

काठमाडौं, जेठ १९ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा देखिएको गतिरोधलाई “राजनीतिक इरादाले निर्देशित” भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनका अनुसार गृहमन्त्री रमेश लेखकको राजीनामालाई मुख्य बहानाको रूपमा प्रयोग गर्दै संसद बन्द गर्नु लोकतान्त्रिक मूल्यविपरीत हो।

नेकपा एमाले संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षसँग संवाद गर्न खोजेपनि बेवास्ता गरिएको उल्लेख गर्दै, “वार्ता नगराउने र संसद चल्न नदिने यस्तो प्रवृत्ति दीर्घकालीन लोकतन्त्रका लागि खतरनाक हो,” भन्ने धारणा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले गृहमन्त्रीमाथि कुनै औपचारिक छानबिन वा उजुरी नरहेको स्पष्ट पार्दै, “राजीनामा माग्नु केवल मनगढन्ते आरोपमा आधारित हो” भन्ने तर्क प्रस्तुत गरे। उनका अनुसार यस्ता विषय संसद बन्द गर्न प्रयाप्त आधार बन्न सक्दैनन्।

प्रधानमन्त्री ओलीले सडकमा केही समूहले माग राख्नासाथ समर्थन गर्ने र संसदमा अवरोध गर्ने शैलीलाई प्रतिगमनको प्रवृत्ति भनेर चित्रित गरे। “यसरी लोकतन्त्रलाई सधैं बन्धक बनाइरहँदा जनतामाथि धोका हुन्छ,” ओलीले भने।

अर्थतन्त्र दबाबमा रहेको अवस्थामा आएको बजेटबारे संसदमा गम्भीर र रचनात्मक बहस हुनुपर्ने प्रधानमन्त्रीको आग्रह थियो। उनले मन्त्रीहरूलाई संसदलाई प्राथमिकता दिन निर्देशन समेत दिएका छन्।

राजतन्त्र पुनःस्थापनाको बहसलाई उनले दास मानसिकता को उपज हो भने, आजको समाजमा जन्मिँदै राजा हुने कुरा गर्नु मुर्खता हो। दुनियाँभर जनप्रतिनिधिबाट शासन चलाउने प्रणाली प्रमाणित भइसकेको छ, उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सत्ताबाट बाहिरिएपछि कतिपय दल तथा नेताहरू कुण्ठित भएर सरकारको असफलता चाहनु र नकारात्मक प्रवृत्ति फैलाउनु राष्ट्रघाती कार्यसरह भएको बताए। “हामीले मुलुकलाई थामेका छौं, अब अझ प्रभावकारी रूपमा अगाडि बढ्नेछौं,” उनले विश्वास व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ