+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय

शेख हसिनाको पात्र निभाएकी अभिनेत्री नुसरत फारिया विमानस्थलमा पक्राउ, वास्तविक राजनीतिमा चरित्र दोहोर्‍याएको आरोप

जनवाच
९ घण्टा अगाडी

ढाका, ५ बैशाख —चलचित्रमा पूर्वप्रधानमन्त्री शेख हसिनाको भूमिका निभाएर चर्चामा आएकी अभिनेत्री नुसरत फारिया अहिले साँच्चिकै राजनीतिक विवादमा मुछिएकी छिन्। उनी आइतबार थाइल्यान्ड जान लाग्दा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन्।

पटक–पटक चर्चित भूमिका निर्वाह गर्दै आएकी फारिया अब राज्यविरुद्ध षड्यन्त्र र हिंसात्मक आन्दोलनमा संलग्न रहेको अभियोग खेप्दैछिन्। ‘मुजिब: द मेकिङ अफ नेशन’ नामक बायोपिक फिल्ममा शेख हसिनाको जीवन चरित्र निभाएकी उनले अहिले वास्तविक जीवनमै त्यस्तै राजनीतिक छाया ओढेकी आरोप लगाइएको छ।

फरियामाथि २०२४ मा भएको विद्यार्थी आन्दोलनलाई हिंसात्मक बनाएको, हत्याको प्रयासमा संलग्न भएको र सरकारविरुद्धको विद्रोहलाई आर्थिक तथा भावनात्मक समर्थन दिएको आरोप छ। अध्यागमन अधिकारीका अनुसार वाटारा प्रहरी चौकीमा दर्ता मुद्दाका आधारमा उनलाई विमानस्थलमै नियन्त्रणमा लिइएको हो।

बंगलादेशमा हालैको राजनीतिक संकटका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिई भारतमा शरण लिएको समाचार सार्वजनिक भइसकेको छ। हसिनाको पार्टी अवामी लिगसमेत हाल बंगलादेशमा प्रतिबन्धित छ। फारियालाई यही पार्टीको आन्दोलनसँग सम्वन्धित देखाएर मुद्दा अघि बढाइएको हो।

नुसरत फारिया एक जमानामा रेडियो जकीबाट आफ्नो करियर सुरु गरेर चलचित्र अभिनयमा उदाएकी थिइन्। सन् २०१५ को बंगलादेश–भारत संयुक्त फिल्म ‘आशिकी: ट्रु लभ’ बाट उनले सिने क्षेत्रमा पाइला टेकेकी थिइन्। तर २०२३ मा शेख हसिनाको भूमिकामा देखिएपछि उनी देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि चर्चामा आएकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ