काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरूको संरक्षणलाई पृथ्वी, महासागर र सम्पूर्ण मानव जातिको अस्तित्वसँग गाँसिएको विषयका रूपमा प्रस्तुत गरेका छन्। सोल्टी होटेलमा सुरु भएको सगरमाथा संवाद २०८१ को उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले यो संवाद “सर्वोच्च शिखर सगरमाथाको नामबाट सुरू गरिएको विश्वव्यापी चेतनाको अभियान” भएको बताए। प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परिरहेको नेपालजस्ता हिमाली देशहरूको आवाज विश्वमाझ पुर्याउने उद्देश्यले संवादको सुरुआत गरिएको स्पष्ट पारे। “हाम्रो उत्सर्जन न्यून छ तर हाम्रो योगदान गम्भीर छ,” प्रधानमन्त्री ओलीले भने, “हामी डटिरहेका छौँ, पहिरोले घर बगाउँछ, बाढी र खडेरी आइपर्छ तर हामी सधैं प्रकृतिसँग मिलेर बाँचेका छौँ। अब विश्वले पनि हाम्रो संघर्षलाई बुझ्नुपर्छ।” उनले यो संवाद उच्च नैतिकता, बौद्धिक साहस र साझा दृष्टिकोणको उत्कृष्ट नमुना बनोस् भन्ने अपेक्षा व्यक्त गरे।