काठमाडौं, बैशाख २७ — नेपालमा वित्तीय प्रविधिको (फिनटेक) क्षेत्रमा ऐतिहासिक पाइलाका रूपमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’ सम्पन्न भएको छ। राजधानी काठमाडौंमा सम्पन्न यो महोत्सवले नेपालमा डिजिटल बैंकिङ, कृत्रिम बौद्धिकता, तथा फिनटेक नवप्रवर्तनका क्षेत्रमा बहस र सहकार्यको नयाँ सम्भावनाको ढोका खोलेको छ। कार्यक्रममा सहभागी करिब ४०० प्रतिनिधिहरू—जसमध्ये नेपालका साथै अन्तर्राष्ट्रिय फिनटेक, वित्तीय संस्था, नियामक निकाय र प्रविधि विज्ञहरू थिए—ले डिजिटल वित्तीय सेवाको भविष्य र दक्षिण एसियाको साझा रणनीतिबारे गहिरो संवाद गरेका थिए। काठमाडौं फिनटेकका संस्थापक संजिव सुव्बाको नेतृत्वमा आयोजित कार्यक्रममा डिजिटल प्रविधिको प्रभाव, नवप्रवर्तन प्रवाह, र सहकार्य रणनीतिमा जोड दिइएको थियो। सुव्बाका अनुसार, “अब नेपाल फिनटेक प्रयोगकर्ता मात्र होइन, संवाददाता र सर्जक बन्ने मोडमा छ।” कार्यक्रममा प्रमुख वक्ताको रूपमा सिंगापुरस्थित डीबीएस बैंकका पूर्व नवप्रवर्तन प्रमुख नील क्रस, भारतका कोटक महिन्द्राका पूर्व सीडीयो दीपक शर्मा, तथा युनियनपे साउथ एशियाका प्रमुख बिङहान हूले डिजिटल क्रान्तिको अन्तर्राष्ट्रिय अनुभव साझा गरे। त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानीको क्षेत्रमा पुर्याएको योगदानका लागि विशेष सम्मान प्रदान गरियो। कार्यक्रमका विभिन्न सत्रमा डिजिटल बैंकिङमा कृत्रिम बौद्धिकताको भूमिकादेखि लिएर QR प्रणाली पछिको भविष्य, साझेदारी रणनीति, र अन्तरदेशीय सहकार्यका सम्भावनाहरूमा बहस गरियो। फेस्टिवलको अर्को आकर्षण प्रविधि प्रदर्शनी, स्टार्टअप नवप्रवर्तनहरूको प्रत्यक्ष डेमो, र उच्चस्तरीय नेटवर्किङ सत्रहरू थिए, जसले स्थानीय तथा अन्तर्राष्ट्रिय फिनटेक खेलाडीहरूलाई एकआपसमा जडान गरायो। कार्यक्रमलाई नेपाल क्लियरिङ हाउसको प्रमुख प्रायोजनमा, फिनटेक अलायन्स नेपाल, ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, र अन्य अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूले सहकार्य गरेका थिए।