+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

प्रत्यक्ष कार्यकारी प्रणालीले मात्र देश अगाडि बढ्छ, रवि लामिछानेविरुद्धका मुद्दा प्रतिशोधपूर्ण: सोबिता गौतम

जनवाच
१७ घण्टा अगाडी

काठमाडौँ, २० वैशाख — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले देशको दीर्घकालीन राजनीतिक स्थायित्व र विकासको लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली नै आवश्यक भएको धारणा राखेकी छन्।

शनिबार कास्कीको रुपा गाउँपालिकामा रास्वपाको कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्दै, सांसद गौतमले वर्तमान राजनीतिक प्रणालीले जनताको अपेक्षा अनुसार नतिजा दिन नसकेको टिप्पणी गरिन्।

“नेपाली जनताले अब परिवर्तन अनुभूति गर्न प्रत्यक्ष रूपमा प्रधानमन्त्री चुन्ने अधिकार चाहेका छन्,” उनले भनिन्, “त्यसले मात्र देशमा जवाफदेही र प्रभावकारी शासन सम्भव बनाउँछ।”

सांसद गौतमले ‘मिसन ०८४’ लाई कुनै एक दलको रणनीति नभएर जनताको निर्णायक हस्तक्षेपको अभियानका रूपमा व्याख्या गरिन्। “देश बनाउने जिम्मा अरूलाई थमाएर बस्ने होइन, हामी आफैं सक्रिय हुनुपर्छ,” भन्दै उनले आम नागरिकलाई राजनीतिक सचेतनामा सहभागी हुन आह्वान गरिन्।

सरकारको नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै उनले पुरानै बुँदाहरूलाई नयाँ शब्दमा पोतेर प्रस्तुत गरिएको भन्दै आलोचना गरिन्। “कार्यान्वयनको इच्छाशक्ति नभएको नीति जनताका लागि झूटको संकलन मात्रै हुन्छ,” उनको भनाइ थियो।

गौतमले सरकारमाथि भ्रष्टाचार ढाकछोप गर्ने प्रयास गरेको आरोप पनि लगाइन्। “रास्वपा सरकारमा जाँदा भण्डाफोर भयो, त्यसपछि हतारमा गठबन्धन फेरिएर अनुसन्धान रोकिन थाल्यो,” भन्दै उनले वाइडबडी, पोखरा विमानस्थल, भुटानी शरणार्थी काण्डलगायतका मुद्दामा राजनीतिक चलखेल भएको दाबी गरिन्।

सांसद गौतमले पार्टी सभापति रवि लामिछानेविरुद्धका मुद्दा प्रतिशोधपूर्ण भएको पनि बताइन्। “भ्रष्टाचार बिरुद्धको कदम काबिल–ए–प्रशंसा हो, तर त्यसकै बदलामा मुद्दा लगाउनु दुर्भाग्यपूर्ण हो,” उनले जोड दिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ