काठमाडौं, वैशाख ७ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरुलाई “कमाइको केही अंश नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ” भन्ने आह्वान गर्दै स्वदेशमै परिवर्तन सम्भव रहेको स्पष्ट सन्देश दिनुभएको छ। नेपाली जनसम्पर्क समिति, युएई द्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीका असंख्य सम्भावना रहेको र अझै धेरै क्षेत्रहरु ‘एक्सप्लोर’ हुन बाँकी रहेको बताउनुभयो। “विदेशमा जति मेहनत गर्नुहुन्छ, त्यो मेहनत र लगानी स्वदेशमै गर्नुभयो भने देश विकासको गतिमा तीव्रता आउँछ,” उहाँको भनाइ थियो। ढकालले नेपालको विकासका लागि सधैं विदेशी लगानी मात्र पर्खनु गलत सोच भएको र सानोसानो नेपाली पुँजी नै भविष्य निर्माणको आधार बन्न सक्ने उल्लेख गर्नुभयो। “विदेशमा भएका नेपालीहरुले देशको सम्भावना देख्न सकेनन् भने कसले देख्छ?” भन्दै उहाँले गम्भीर प्रश्न उठाउनुभयो। उहाँले हालै स्थापना गरिएको १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी को उल्लेख गर्दै यसमार्फत जलविद्युत, पर्यटन, उद्योग जस्ता क्षेत्रमा ठूला लगानी गर्न सकिने र विदेशमा रहेका नेपालीहरुका लागि लगानीको दरिलो माध्यम बन्ने बताउनुभयो। “यस पुँजीलाई इक्विटी मानेर थप ऋण लिएर ४० अर्बभन्दा बढी लगानी सम्भव छ,” उहाँले स्पष्ट पार्नुभयो। नेपाल सरकारले पछिल्लो समय दुई दर्जनभन्दा बढी कानुन संशोधन गरेर लगानी मैत्री वातावरण बनाउन थालेको र यसमा नेपाल उद्योग वाणिज्य महासंघको प्रमुख भूमिका रहेको ढकालले दाबी गर्नुभयो। “अब लगानीकर्ताले गुनासो होइन, ग्यारेन्टी र प्रतिफलको वातावरण भेट्नेछन्,” उहाँले भन्नुभयो। ढकालले विदेशमा कमाइरहेका नेपालीहरु केही समयपछि स्वदेश फर्किने भएकाले, अहिलेको लगानी आफ्नै भविष्यका लागि बीउ हुने दाबी गर्दै भन्नुभयो – “त्यही लगानीले फर्किंदा तपाईंलाई साथ दिनेछ, जीवन सहज बनाउनेछ।” कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री लगायतले पनि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको योगदानको प्रशंसा गर्दै स्वदेश विकासमा सहकार्यको आह्वान गर्नुभयो।