काठमाडौं, चैत २६ — सन्तान जन्माउनु मातृत्वको खुसी मात्र होइन, अनेकौँ जोखिमको यात्रा पनि हो। आजको आधुनिक युगमा पनि महिलाहरू गर्भावस्था र सुत्केरी प्रक्रियामा मृत्युको मुखमा पुग्नु परिरहेको छ, जुन अवस्था स्वास्थ्य सेवाको पहुँच र नीतिगत प्राथमिकतामा गम्भीर प्रश्न उठाउँछ। संयुक्त राष्ट्रसंघीय संस्था विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै सार्वजनिक गरेको एक गम्भीर प्रतिवेदनमा विश्वव्यापी मातृ मृत्युदर फेरि बढ्न थालेको चेतावनी दिएको छ। अझ चिन्ताको विषय के भने, विश्वभर हरेक २ मिनेटमा एक महिला सुत्केरी प्रक्रियामा मृत्यु भइरहेको छ। मुख्य कारण : सहयोग कटौती, संकटग्रस्त प्रणाली पछिल्ला केही वर्षयता, विशेष गरी सन् २०१६ पछि, मातृ मृत्युदर घटाउने अभियान सुस्त भएको जनाइएको छ। संयुक्त राष्ट्रसंघका अनुसार, ऐतिहासिक रूपमा उपलब्ध हुँदै आएको अन्तर्राष्ट्रिय सहयोग र कोषमा व्यापक कटौती हुन थालेपछि स्वास्थ्य प्रणालीहरू प्रभावित भएका छन्। स्वास्थ्यकर्मी अभाव आवश्यक औषधिको आपूर्ति अवरुद्ध गम्भीर अवस्थाका लागि पूर्वाधारको अभाव (जस्तै रक्तस्राव, प्रि–एक्लाम्सिया, मलेरिया उपचार) यी सबै कारणले सुत्केरी महिलाको मृत्यु बढिरहेको डब्ल्यूएचओको प्रतिवेदनमा उल्लेख छ। एक दशकको प्रगति खतरामा सन् २००० यता मातृ मृत्यु दरमा ४० प्रतिशतले कमी आएको उल्लेख गरिएको भए पनि पछिल्ला आठ वर्षमा सुधारको गति थालिएको छ। डब्ल्यूएचओका यौन प्रजनन स्वास्थ्य प्रमुख पास्केल एलोटेले प्रगतिको यो गतिलाई अबको चुनौतीको घण्टी भनेका छन्। डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले पनि यो अवस्था “आशाको झिल्कोसहितको गम्भीर चुनौती” भनेर टिप्पणी गरेका छन्। डोनाल्ड ट्रम्प नेतृत्वमा अमेरिकाबाट सहयोग कटौती सुरु भएपछि सयौँ अन्तर्राष्ट्रिय स्वास्थ्य परियोजनाहरू प्रभावित भएका छन्। यो राजनीतिक निर्णयले विकासशील मुलुकमा आम महिलाको जीवनमा प्रत्यक्ष असर पारिरहेको संयुक्त राष्ट्रका विभिन्न एजेन्सीहरूले उल्लेख गरेका छन्।