२५ चैत, काठमाडौं – हजको समयमा अराजकता र सुरक्षाको चुनौती सामना गर्दै साउदी अरेबियाले कडाइ अपनाउने निर्णय गरेको छ। धार्मिक पर्यटनको दृष्टिले अति संवेदनशील मानिने यस अवधिमा भारत, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया, इजिप्टलगायत १४ मुलुकका नागरिकलाई अस्थायी रूपमा भिसा नदिने घोषणा साउदी सरकारले गरेको हो।
साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको निर्देशनमा लागू गरिएको यो कदम व्यापार, पारिवारिक र उमराह भिसामा समेत लागू हुनेछ। यस अस्थायी रोक मध्य जुनसम्म, अर्थात् यस वर्षको हज सम्पन्न नभएसम्म कायम रहने जनाइएको छ।
गत वर्ष हजको समयमा करिब १ हजारभन्दा बढी तीर्थयात्रीको ज्यान गएको घटनालाई मध्यनजर गर्दै साउदी सरकारले अनधिकृत हज यात्रालाई रोक्नुपर्ने आवश्यक देखेको थियो। ती मध्ये अधिकांश बिना अनुमति आएका तीर्थयात्री थिए, जसले भीडभाड, अव्यवस्था र सुरक्षामा चुनौती उत्पन्न गरेका थिए।
यही कारण, यसपालिको हज व्यवस्थापनमा थप अनुशासन र सुरक्षाको प्रत्याभूति गर्न यो अस्थायी रोक लगाइएको हो।
साउदी अधिकारीहरूका अनुसार उमराह भिसा आगामी अप्रिल १३ सम्म मात्र उपलब्ध हुनेछ। सो मितिपछि उमराह भिसा पनि स्थगित हुनेछ, ताकि हजको पूर्व तयारीलाई सहज र व्यवस्थित बनाउन सकियोस्।
साउदीले अस्थायी भिसा प्रतिबन्ध लगाएका देशहरूमा निम्न मुलुकहरू छन्:
भारत, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया, इजिप्ट, नाइजेरिया, इराक, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया, यमन र नेपाल।
साउदी अरबको विदेश मन्त्रालयले भनेको छ, “यो अस्थायी निर्णय तीर्थयात्रीहरूको सुरक्षालाई बलियो बनाउन र यात्रा प्रणालीलाई थप व्यवस्थित गर्न हो।”
साउदीको यो निर्णयले अल्पकालीन असुविधा भए पनि दीर्घकालीन रूपमा हजको गरिमा, सुरक्षात्मक संयन्त्र र धार्मिक व्यवस्थापनमा सुधार ल्याउने आशा गरिएको छ।