काठमाडौं, चैत २४ — म्यान्मामा गएको विनाशकारी भूकम्पपछि एक हप्ता बित्दासमेत जनजीवन अझै सामान्य बन्न सकेको छैन । सरकारी तथ्याङ्क अनुसार, भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ३ सय ५४ पुगेको छ भने ४ हजार ५ सय ८ जना घाइते भएका छन् । अझै पनि २२० जना बेपत्ता छन् ।
मार्च २८ मा ७.७ म्याग्निच्युडको भूकम्पले म्यान्मालाई हल्लाउँदा लाखौंको जीवन उजाड बनाएको छ । संयुक्त राष्ट्रसंघको प्रारम्भिक अनुमान अनुसार, ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । धेरैको घर क्षतिग्रस्त भएका छन् भने कैयौं मानिस अझै खुला आकासमुनी रात बिताउन बाध्य छन्।
सहायता पुर्याउने प्रयास भइरहे पनि चार वर्षदेखि गृहयुद्धमा होमिएको देशमा विपद् व्यवस्थापन झनै जटिल भएको छ। राष्ट्रसंघीय सहायता प्रमुख टम फ्लेचर मण्डाले पुगेर भूकम्प पीडितसँग भेट गरे । उनले एक्समा लेखे, “विनाश अत्यासलाग्दो छ। विश्वले म्यान्माका जनताको साथमा उभिनै पर्छ।”
तर यति गम्भीर संकटबीच पनि देशको शासन गरिरहेको सैन्य जुन्ताको गतिविधिले आलोचना बढाएको छ। भूकम्पपछि समेत जुन्ताले १६ भन्दा बढी सैन्य आक्रमण गरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ ।
यता, सैन्य प्रमुख मिन आङ ह्लाइङले विदेश भ्रमण सकेर फर्किएलगत्तै नयाँ मृत्यु तथ्याङ्क सार्वजनिक गरिएको हो । उनले थाइल्यान्ड र भारतका नेतासँग भेटघाट गरेपछि उनको उपस्थितिले बैंककमा प्रदर्शन र आलोचना पनि खेप्नु परेको छ।
अन्तर्राष्ट्रिय सहयोगमा पनि राजनीतिक र कूटनीतिक उल्झनले ढिलाइ गरेको छ। चीन, भारत, रुसले उद्धार टोली पठाए पनि सहयोग अझै पर्याप्त नभएको राहत निकायहरू बताउँछन्। अमेरिका भने भूकम्पपछिको अवस्थालाई मध्यनजर गर्दै २० लाख डलरको प्रारम्भिक सहयोगमा थप ७० लाख डलरको सहायता दिने बताएको छ।