काठमाडौँ । सामाजिक न्याय र समानताका पक्षमा लामो समयदेखि सक्रिय प्रदीप परियारले विश्व आर्थिक मञ्च (WEF) अन्तर्गत ‘ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीप’ को सदस्यका रूपमा जिम्मेवारी पाएका छन्।
यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई, सामाजिक समानता, जातीय विभेदविरुद्धको अभियान र समावेशी नेतृत्व प्रवर्द्धनमा नेपालको पहिचानलाई विश्वमञ्चमा स्थापित गर्ने अवसरसमेत हो।
परियार ‘दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स’ का संस्थापक तथा अध्यक्ष हुन्। उनले पछिल्ला दुई दशकदेखि युवा सशक्तीकरण, शान्ति निर्माण, र सामाजिक न्यायका क्षेत्रमा योगदान पुर्याउँदै आएका छन्। विशेषगरी, जातीय भेदभावविरुद्धको वैश्विक अभियानमा उनको नेतृत्व प्रभावकारी मानिन्छ।
उनको नयाँ भूमिका आगामी दुई वर्ष (२०२५–२०२६) का लागि रहनेछ। यस अवधिमा उनले अन्तर्राष्ट्रिय समुदायलाई प्रभाव पार्ने नीति निर्माण, अध्ययन तथा अन्वेषणमा सहभागी हुनेछन्।
विश्व आर्थिक मञ्चअन्तर्गत ‘ग्लोबल फ्युचर काउन्सिल’ नेटवर्क ज्ञान उत्पादन गर्ने विश्वस्तरीय थिंक ट्यांक हो। यसमा विभिन्न विषयका ३६ काउन्सिलहरू छन्, जहाँ सात सयभन्दा बढी विशेषज्ञहरू समावेश छन्। यी काउन्सिलहरू व्यापार, सरकार, शिक्षा, नागरिक समाज र अन्तर्राष्ट्रिय संस्थाहरूको प्रतिनिधित्व गर्छन्।
परियारको समावेशी नेतृत्वले सामाजिक न्याय र दिगो विकासका मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा अझ मजबुत बनाउने विश्वास गरिएको छ।
सन् २०२० मा परियार ‘यंग ग्लोबल लिडर्स’ मा चयन भएका थिए। त्यसयता उनले युवाहरूलाई समावेशी नेतृत्वमा ल्याउने अभियानलाई तीव्रता दिएका छन्।