काठमाडौं । बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्य सिलवाल विशेष अदालतबाट भ्रष्टाचार आरोपमा सफाइ पाएपछि निलम्बन स्वतः फुकुवा भएको छ। तर, उनले अब पुनः अध्यक्ष पदमा फर्किन नपाउने स्पष्ट भएको छ।
विशेष अदालतले सिलवाललाई भ्रष्टाचार आरोपबाट दोषमुक्त गर्दै सफाइ दिएपछि कतिपयले फेरि अध्यक्ष पदमा बहाल हुन सक्ने भन्ने जिज्ञासा राखेका थिए। तर, सिलवालका अनुसार उनको चार वर्षे कार्यकाल १९ माघमा सकिएको छ, जसकारण अब उनी सो पदमा फर्कन पाउने कानुनी आधार छैन।
“२४ मंसिरमा ममाथि मुद्दा चलेको थियो, १९ माघमा मेरो कार्यकाल सकियो। त्यसैले अब म स्वतः अवकाशमा छु,” सिलवालले भने।
उनले २०७७ साल माघ १९ मा बीमा समितिको अध्यक्षका रूपमा पदभार सम्हालेका थिए, जुन चार वर्षे कार्यकालका लागि थियो। बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण भए पनि उनको पदावधि निरन्तर थियो।
यसबीच, सरकार केही दिन अघि मात्र शरद ओझालाई बीमा प्राधिकरणको नयाँ अध्यक्षमा नियुक्त गरिसकेको छ। त्यसैले, सिलवालले पद फिर्ता पाउने वा ओझासँग प्रतिस्पर्धा हुने कुनै सम्भावना छैन।