काठमाडौँ – चीन भ्रमणमा रहेका नेपाली कांग्रेसका नेताहरूले एक चीन नीति र चीनको सुरक्षा चासो प्रति नेपाल सदैव प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका छन्।
पूर्वउपप्रधानमन्त्री सुझाता कोइराला र कांग्रेस नेता देवराज चालिसे सहितको टोलीले सिचुवान प्रान्तको लेसान सहरमा आयोजित कार्यक्रम मा लिखित मन्तव्य प्रस्तुत गर्दै चीन र नेपालको घनिष्ठ सम्बन्धबारे चर्चा गरेका थिए।
कोइरालाले कला, संस्कृति र सम्पदा संरक्षण मा चीनको अनुभव नेपालका लागि महत्वपूर्ण हुने बताउँदै नेपाल सरकारले चीनसँग सहयोग विस्तार गर्नुपर्ने सुझाव दिइन्।
नेता चालिसेले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले हासिल गरेको उल्लेखनीय विकासको प्रशंसा गर्दै नेपालले पनि चीनको प्रगतिबाट लाभ उठाउन सक्ने धारणा राखे।
भ्रमण टोलीले लेसान सहरको गुआनयिङ गाउँपालिकाका पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै चिनियाँ स्थानीय तहमा अपनाइएका प्रजातान्त्रिक अभ्यासबारे जानकारी लिएको थियो। टोलीलाई कृषि एवम् नमूना परियोजनाहरूको अवलोकन गराइएपछि नेपाल-चीन सहकार्यलाई थप सुदृढ गर्न विभिन्न सम्भावनाबारे छलफल भएको थियो।