काठमाडौं, १७ फागुन – काठमाडौंका केही स्थानहरूमा शनिबार ५ घण्टासम्म विद्युत् कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले विज्ञप्ति जारी गर्दै, कन्स्ट्रक्शन कार्यको कारण विभिन्न स्थानमा आज विद्युत् आपूर्ति रोक्ने जानकारी दिएको छ। प्राधिकरणका अनुसार, बलम्बु फिडरअन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक लगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिका लागि आज विद्युत् आपूर्ति बन्द गरिनेछ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म यी स्थानहरूमा बिजुली कटौती हुनेछ। प्राधिकरणले ग्राहकलाई भएको असुविधाप्रति क्षमा प्रकट गर्दै, काम छिटो सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत् आपूर्ति पुनः सञ्चालन हुने बताएको छ। यसै बीच, मूलपानी सब स्टेसन निर्माण परियोजनाले आज बेलुकीसम्म बानेश्वर, महाराजगञ्ज, रत्नपार्क, जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रहरूको क्षेत्रमा पनि विद्युत् आपूर्ति रोकिने जानकारी दिएको छ। निर्माणाधीन सब स्टेशनमा प्राविधिक कामका कारण यी स्थानहरूमा बिजुली नआउने प्राधिकरणले पुष्टि गरेको छ।