+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

अर्थतन्त्र सुधारका लागि समन्वयको खाँचो: महासंघ अध्यक्ष ढकाल

जनवाच
१ महिना अगाडी

 काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भए पनि समग्र वातावरण अनुकूल नहुँदा अपेक्षित प्रतिफल आउन नसकेको बताएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित ‘संघीय संरचनामा लगानी प्रवर्द्धन: सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले मुलुकको आर्थिक सुधारका लागि सरकार, राजनीतिक दल, प्रशासन, तथा निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उल्लेख गरे।

“हामी सबै एउटै डुङ्गाका यात्री हौं। देशको अर्थतन्त्र बलियो बनाउन हरेक पक्ष समान जिम्मेवार बन्नुपर्छ,” उनले भने।

संविधानतः नेपाल संघीय संरचनामा रुपान्तरण भए पनि तीनै तहका सरकारहरू प्रभावकारी रूपमा काम गर्न नसकेको उल्लेख गर्दै अध्यक्ष ढकालले लगानी प्रवर्द्धनमा राजनीतिक एवं नीतिगत अस्थिरता, सरकारका विभिन्न तहबीच समन्वयको अभाव, तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रमको कमी मुख्य चुनौती रहेको बताए।

उनले प्रशासनिक प्रक्रिया सरल बनाउनुपर्ने, लगानीको सुरक्षामा सरकार जिम्मेवार बन्नुपर्ने तथा पूर्वाधार परियोजनाहरूलाई निर्वाधरूपमा सञ्चालन गर्न अनुकूल वातावरण तयार गर्नुपर्ने धारणा राखे।

त्यस्तै, तीनै तहका सरकारहरू राजस्व संकलनमै केन्द्रित रहेको, व्यवसाय दर्ता तथा नवीकरण प्रक्रियामा ढिलाइ हुने, तथा औद्योगिक व्यवसाय ऐनमा एकरूपता नहुँदा लगानीमैत्री वातावरण बन्न नसकेको उनले औंल्याए।

डिजिटल प्रविधिको प्रयोग गर्दै व्यवसाय दर्ता तथा कर बुझाउने प्रणालीलाई सहज बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले नागरिक एपमा व्यवसायसम्बन्धी सुविधाहरू थप्नुपर्ने आवश्यकता औंल्याए। साथै, औद्योगिक व्यवसाय ऐनमा थप सुविधा समेटी घरेलु उद्योग प्रवर्द्धन गर्न उद्योग वाणिज्य संघहरूसँग सहकार्य आवश्यक रहेको धारणा राखे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ