काठमाडौँ – नबिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) को माध्यमबाट विराटनगरमा ‘नबिल एसएसई कनेक्ट: प्रदेशभर उद्यमशीलताको प्रवद्र्धन’ कार्यशाला सम्पन्न गरेको छ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा आयोजित उक्त कार्यशालाले स्थानीय उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी निकायका पदाधिकारीहरूलाई एउटै मञ्चमा ल्याएर उद्यमशीलताको सम्भावना, नवप्रवर्तन, सहकार्य र समृद्धिको बहसलाई प्राथमिकता दियो।
कार्यशालाको उद्देश्य स्थानीय समुदायलाई उद्यमशीलतातर्फ आकर्षित गर्दै, व्यवसायिक वातावरणलाई थप सुदृढ बनाउनु रहेको नबिल बैंकले जनाएको छ। बैंकले यसै माध्यमबाट ‘नबिल एसएसई’ अन्तर्गतको प्रमाणपत्र कोर्सलाई समेत देशव्यापी विस्तार गर्ने योजना बनाएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले कार्यशालामा सहभागीहरूसँग संवाद गर्दै उद्यमशीलता प्रवद्र्धन बैंकको प्राथमिकतामा रहेको बताए। उनले बैंकले रोजगारी सिर्जना, स्थानीय उद्यम प्रवद्र्धन तथा युवा पलायन रोक्ने उद्देश्यसहित ‘नबिल एसएसई’ सञ्चालन गरिरहेको उल्लेख गरे।
कार्यक्रमको एक विशेष अन्तरक्रिया सत्रमा ‘प्रदेशीय विकासमा उद्यमशीलताको भूमिका’ विषयमा छलफल गरिएको थियो। यसमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौला सहभागी थिए।
सचिव घिमिरेले स्वदेशमै लगानीको वातावरण सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिए भने नबिल बैंकका अध्यक्ष पौडेलले ‘उद्यमशीलता प्रवद्र्धनका लागि दिगो इकोसिस्टम विकास गर्न आवश्यक छ’ भन्ने धारणा राखे।
नेपाल लघु तथा साना उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले स्थानीय उद्यमीहरूलाई बजारसम्म पहुँच पुर्याउने विषयमा महासंघको भूमिका महत्वपूर्ण हुने बताए।
कार्यक्रममा नबिल एसएसई कोशी प्रदेश संयोजक बेद संग्रौलाले नबिल बैंकको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै सहभागीहरूलाई स्वागत गरे। साथै, नबिल एसएसई कार्यक्रमका प्रशिक्षार्थीहरूले आफ्नो उद्यमशीलता यात्राबारे अनुभव बाँडे।
नबिल बैंकका अध्यक्ष पौडेल र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख डा. रामावतार शरण ले कार्यक्रममा विशेष योगदान पुर्याउने विज्ञहरूलाई मायाको चिन्ह प्रदान गरी सम्मान गरे।
नबिल बैंकले त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट सँग सहकार्य गर्दै फेलोसिप कार्यक्रम तथा सातै प्रदेशका विभिन्न शैक्षिक संस्थासँग मिलेर सर्टिफिकेट कोर्स सञ्चालन गरिरहेको छ।
हालसम्म ५४३ प्रशिक्षार्थीले सर्टिफिकेट कोर्स पूरा गरिसकेका छन्, जसबाट ७२ नयाँ उद्यम स्थापित भएका छन्। समग्रमा ११७ उद्यमहरू स्थापना भइसकेका छन् र १,२०० भन्दा बढी रोजगारीका अवसरहरू सिर्जना भएका छन्।
‘नबिल एसएसई कनेक्ट’ कार्यक्रमले स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्दै नवप्रवर्तनशील व्यवसायहरूलाई अगाडि बढाउने दिशामा महत्वपूर्ण भूमिका खेलेको छ।