काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले फागुन २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ४५ हजार कित्ता सेयर जारी गर्न लागेको हो, जसको कुल मूल्य १८ करोड ४५ लाख रुपैयाँ बराबर हुनेछ।
यसअघि, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता आईपीओ निष्कासन भइसकेको छ भने ६७ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।
सर्वसाधारणले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन खुला रहनेछ। लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओमा सी–आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। यस आईपीओको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ।