काठमाडौँ- फागुन ८ – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा रहस्यमय अवस्थामा मृत्यु भएकी नेपाली छात्रा प्रकृति लम्सालको अन्त्येष्टि उनको हजुरबुवा देवनाथ लम्सालले गरेका छन्। ७६ वर्षीय देवनाथले भैरहवाको स्वर्गद्वारी घाटमा प्रकृतिलाई अन्तिम बिदाइ दिए।
बुधबार राति सम्पन्न अन्त्येष्टिमा स्थानीयबासी, आफन्त, तथा सहपाठीहरुको भावुक उपस्थिति रहेको थियो। प्रकृतिको पार्थिव शरीर भारतबाट गोरखपुर हुँदै राति ९ बजे भैरहवा ल्याइएपछि उनको निवास सिद्धार्थनगर–८ मा श्रद्धाञ्जलीका लागि राखिएको थियो।
केआईआईटी विश्वविद्यालयमा बी–टेक अध्ययनरत २० वर्षीय प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ र एकजनालाई हिरासतमा लिइएको छ।
प्रकृतिका परिवारले घटनाको गहिरो छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। उनीहरू न्यायका लागि सम्बन्धित निकायसँग पहल गरिरहेका छन्। स्थानीय समुदाय तथा विद्यार्थी समूहले पनि पारदर्शी अनुसन्धानको माग गर्दै घटनाबारे गहिरो चासो देखाएका छन्।