+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

जनवाच
१ दिन अगाडी

काठमाडौं, २३ जेठ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागिता जनाउन जेनेभा, स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन्।

नेपाल सरकारको प्रतिनिधित्व गर्दै मन्त्री भण्डारीले सम्मेलनको प्लेनरी सत्रमा नेपालको श्रम नीति, सामाजिक न्याय, मर्यादित रोजगारी र दशवर्षे आन्तरिक रोजगार योजना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यो सम्मेलन जेठ १९ देखि ३० गतेसम्म जारी रहनेछ।

भ्रमणको क्रममा मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का महानिर्देशक गिल्बर्ट एफ. हाउङवो, साउदी अरबका उपमन्त्री डा. तारिक अल हमद, मलेसियाका मानव संसाधन मन्त्री, तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) की महानिर्देशक सुश्री एमी पोप लगायतसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम तय भएको छ।
यी छलफलहरूमा वैदेशिक रोजगारीका अधिकार, सामाजिक सुरक्षा, र श्रमशक्ति प्रवाहका सहमति केन्द्रबिन्दु हुने छन्।

प्लेनरी सत्रको प्रमुख वक्ताको रूपमा मन्त्री भण्डारीले अनौपचारिक श्रमको औपचारिकीकरण, सामाजिक सुरक्षा विस्तार र दीर्घकालीन श्रम रणनीति सम्बन्धी नेपालको दृष्टिकोण प्रस्तुत गर्नेछन्। साथै, उनले जेठ २९ गते सामाजिक न्याय सम्बन्धी विश्वव्यापी गठबन्धनको मञ्चमा विशेष सम्बोधन गर्ने कार्यक्रम पनि तय छ।

मन्त्री भण्डारीले जेठ २८ गते जर्मनीको बर्लिनमा हुने बालश्रम विरुद्धको विश्व दिवस कार्यक्रममा सम्बोधन गर्दै, बालश्रम निवारणमा नेपालको प्रयास र अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकता उठान गर्नेछन्।

यसअघि सम्मेलनका प्रारम्भिक सत्रहरूमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर सहभागी थिए। सम्मेलन समापनपछि मन्त्री भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल जेठ ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको श्रम मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ