+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन

चिनियाँ भाषा प्रशिक्षणले पर्यटन प्रबर्द्धनमा टेवा पुग्‍नेछ : मन्त्री पाण्डे

जनवाच
१ दिन अगाडी

काठमाडौं २३ जेठ –नेपालमा चिनियाँ पर्यटक भित्र्याउने लक्ष्यलाई साकार बनाउन भाषा नै सबभन्दा बलियो माध्यम हुने विश्वाससहित चिनियाँ भाषा प्रशिक्षणको सातौँ चरण सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले शुक्रबार नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै भाषा केवल सञ्चारको साधन नभई सांस्कृतिक दूतत्वको जिम्मेवारी पनि बोक्ने माध्यम भएको उल्लेख गरे।

मन्त्री पाण्डेले चिनियाँ भाषाको ज्ञानले पर्यटन सेवा क्षेत्रको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने भन्दै भने, “नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउने काम यो तालिमले गर्नेछ।” उनले भाषिक दक्षता जीवनको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै पर्यटन पेशामा संलग्नहरूका लागि यो तालिम स्वरोजगार र आत्मनिर्भरता को बाटो बन्ने धारणा राखे।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत **छेन सोङले चिनियाँ भाषा सिक्ने अवसरलाई पर्यटन बजार प्रवेश गर्ने ‘सुनौलो ढोका’**को संज्ञा दिए। “पर्यटकहरू केवल दृश्य हेर्न मात्रै होइन, संस्कृति बुझ्न र आफ्नो भाषामा आत्मीयता खोज्न आउँछन्,” राजदूतले भने, “चिनियाँ भाषामा दक्ष जनशक्ति नेपालका लागि पर्यटन क्षेत्रको रणनीतिक सम्पत्ति हुनेछ।”

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले तालिमलाई दुई देशबीचको सम्बन्ध सुदृढ पार्ने प्रयासको रूपमा व्याख्या गरे। “यो तालिम केवल भाषिक सीप हैन, मित्रताको पुल हो,” उनले भने।

सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछिको सहमतिअनुसार सुरु भएको यो तालिम कार्यक्रमबाट हालसम्म २४० जना पर्यटन पेशाकर्मीहरूले चिनियाँ भाषा सीप हासिल गरिसकेका छन्। सातौँ चरणको तालिममा पनि पर्यटन व्यवसायी, गाइड र सेवा प्रदायकहरूलाई लक्षित गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ