झापा, ५ जेठ — झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भत्काएको पक्की पुल अझैसम्म पुनर्निर्माण हुन सकेको छैन। दिनहुँ साना सवारी साधनहरू भासिएको संरचनामार्फत ज्यानको बाजी लगाउँदै आवतजावत गरिरहेका छन्, तर जिम्मेवार निकायहरू भने अझै ‘बजेटको पर्खाइ’मा छन्। यो पुल विर्तामोड–अर्जुनधारा–इलामको माइ नगरपालिकालाई जोड्ने महत्वपूर्ण सडक खण्डको भाग हो, जसबाट दैनिक सयौं नागरिक आवतजावत गर्छन्। तर पुलको छत खोलामा बगिसकेपछि बर्खामा सवारी चल्नै नसक्ने स्थिति छ। हिउँदमा खुलेपनि बर्खामा खोलाको बहावले पुलमाथिबाट बग्ने अवस्था आउँदा जनजीवन प्रभावित हुने गरेको छ। स्थानीय मेघराज रम्तेल भन्छन्, “पहिलो वर्ष त नबनाइए पनि ‘बजेट छैन होला’ भनेर चुप लाग्यौं, तर अब दोस्रो वर्ष पनि कुनै काम नहुँदा साँच्चै डर लाग्न थालेको छ।” स्थानीयको माग हो—अब मर्मत होइन, नयाँ र बलियो पक्की पुल आवश्यक छ। अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईका अनुसार नगरको स्रोतले पुल बनाउन सक्ने अवस्था छैन। ‘संघीय सरकारसँग अनुरोध गरेका छौं,’ उनले बताए, ‘सभामुख देवराज घिमिरे र मन्त्री देवेन्द्र दाहालले चासो देखाउनु भएको छ, आशा छ नयाँ बजेटमा समेटिन्छ।’ तर जब प्रश्न गरिन्छ—के बजेट विनियोजन भइसकेको हो? जवाफ आउँछ—अहिलेसम्म होइन। सडक डिभिजन कार्यालय, दमकका सूचना अधिकारी विपीन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा यो पुल नपरेको स्पष्ट पारेका छन्। यो तथ्यले स्थानीयको निराशा अझ गहिरो बनाएको छ। विसं २०६५ मा भारत सरकारको दुई करोड रुपैयाँ सहयोगमा निर्माण भएको यो पुल सुरुवाती रूपमा प्रभावकारी देखिएको थियो। त्यसपछि यो सडकखण्डमा लामो दूरीका सवारीहरू पनि चल्न थालेका थिए।