काठमाडौं – राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाको अभियानमा सक्रिय व्यवसायी दुर्गा प्रसाईंको व्यक्तिगत तथा उनको लगानी रहेका अस्पतालहरूको रोक्का गरिएको बैंक खाता सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत फुकुवा गर्न निर्देशन दिएको छ। गत चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनले हिंसात्मक मोड लिएपछि सरकारद्वारा प्रसाईंको व्यक्तिगत खातासहित वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको खाताहरू रोक्का गरिएका थिए। तर, ती अस्पतालको तर्फबाट अपरेशन डाइरेक्टर डा. अञ्जली कार्कीले दुईवटा छुट्टाछुट्टै रिट निवेदन दायर गरेपछि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सोमबार अन्तरिम आदेश जारी गर्दै सबै खाता फुकुवा गर्न निर्देशन दिएको हो।