काठमाडौं – नेपालको पहिलो आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ ले ३२ वर्षे यात्रासँगै आर्थिक सञ्चारमा नयाँ अध्याय सुरु गरेको छ। कार्यक्रम सञ्चालक संस्था आईबीएन मिडिया एन्ड रिसर्च प्रालि ले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत आगामी दिनमा आर्थिक परिवर्तन र विकासमा अझ बढी प्रभावकारी योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।
‘अर्थको अर्थ’ को सुरुआती अवधिदेखि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, निजी क्षेत्रका विभिन्न संघ-संस्थासहित दर्शकले दिएको समर्थनप्रति आभार व्यक्त गर्दै संस्थाले अब कार्यक्रमलाई अझ आधुनिक र प्रभावकारी ढंगले प्रस्तुत गर्ने बताएको छ।
भविष्यमा युवाहरुलाई उद्यमशीलता, वित्तीय साक्षरता र आर्थिक विकासका विषयमा थप जानकारीमूलक सामग्री प्रदान गर्ने योजना सार्वजनिक गरिएको छ। साथै, सातै प्रदेशका स्थानीय आर्थिक विषयवस्तु समेट्ने गरी कार्यक्रमको दायरा फराकिलो बनाइने र राज्यस्तरीय प्रसारण अभियानलाई तीव्रता दिइने जनाइएको छ।
प्रवक्ता इन्द्रराज ढकालका अनुसार, आर्थिक गतिविधिहरूलाई विविध पक्षबाट उजागर गर्ने र वित्तीय समाचारलाई गहिरो विश्लेषणसहित प्रस्तुत गर्ने लक्ष्य लिइएको छ। आर्थिक टेलिभिजन क्षेत्रको प्रारम्भिक यात्रा ‘अर्थको अर्थ’ बाट सुरु भएको र आगामी दिनमा यसले अझ उच्च स्तरको आर्थिक संवाद सुरु गर्ने अपेक्षा गरिएको छ।
संस्थाले समसामयिक परिस्थितिका कारण आर्थिक सञ्चारमा देखिएका चुनौतीहरूलाई अवसरमा बदल्दै नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, आर्थिक क्षेत्रको समग्र प्रवर्द्धनका लागि थप नवीनतम कार्यक्रम विकास गर्ने योजना समेत अघि सारेको छ।