काठमाडौं, १४ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अदालत समक्ष आफूलाई अश्रुग्यासको असरले आवेगमा ल्याएको स्पष्ट पारेका छन्।
जिल्ला अदालत काठमाडौंमा आइतबार उपस्थित भएर बयान दिँदै मिश्रले प्रदर्शनका क्रममा आफू आँखै अगाडि अश्रुग्यास पड्केपछि स्वाभाविक रूपमा भावुक बनेको बताएका हुन्। “नाक र आँखामै अश्रुग्यास परेपछि आँसु थाम्न सकिनँ,” मिश्रले भने, “त्यसपछि साथी नवराजजीलाई जोगाएर एक ठाउँमा राख्दा म अलिकति आवेगमा आएको हुँ।”
१५ चैतमा तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनपछि राति प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो। त्यसयता उनी काठमाडौं जिल्ला प्रहरी परिसरको इजलासमा छन्।
मिश्रले अदालतमा आफूले प्रहरी घेरा तोड्न, संसद्मा आगो लगाउन वा हिंसा भड्काउन उक्साएको कुनै प्रमाण नरहेको दाबी गरे। “नेताको जिम्मेवारी हुन्छ आन्दोलनमा बोल्न,” उनले भने, “तर मैले हिंसा गर्न वा तोडफोड गर्न भनेको होइन।”
आफूलाई एक महिनासम्म हिरासतमा राखिएकोप्रति असन्तुष्टि जनाउँदै मिश्रले थपे, “जति दिन हिरासतमा राखिन्छ, उति राज्य खलनायक देखिन्छ र म नायक बन्ने परिस्थिति सिर्जना हुन्छ।”
आमाको मुख हेर्ने दिन आमासँग भेट्ने आशा गरेको तर रिहा नभएको पीडा पनि मिश्रले अदालत समक्ष पोखेका थिए। “म बाँकी जीवन नाक काटेर बाँच्न चाहन्नँ, न्यायालयले मात्र नागरिकलाई न्याय दिन सक्छ,” उनले भावुक हुँदै भने।
तर सरकारी वकिलले मिश्रको अनुसन्धान नसकिएको भन्दै अझै कम्तीमा २० दिन हिरासतमा राख्न अदालतसँग माग गरेका छन्। यसअघि अदालतले तीन दिनको म्याद थप गरेको थियो।