काठमाडौं, १४ वैशाख – ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा प्रतिवादी बनेकी प्रतिनिधिसभा सदस्य माया राइ पक्राउ परेकी छन्। काठमाडौंस्थित जिल्ला प्रहरी परिसर, भद्रकालीले सभामुख देवराज घिमिरेलाई पत्रमार्फत् राइ पक्राउ परेको औपचारिक जानकारी दिएको छ।
प्रहरीका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित सांसद राइलाई वैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१०, कपन क्षेत्रबाट पक्राउ गरिएको हो। उनी स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष गितेन्द्रबाबु राइसहित ठगी र संगठित अपराधमा संलग्न रहेको आरोपमा फरार सूचीमा थिइन्।
प्रहरीको पत्रमा उल्लेख गरिएको छ, “सुमन खनालसमेतले दायर गरेको जाहेरीमा नेपाल सरकार वादी र स्वर्ण लक्ष्मी सहकारीका सञ्चालकहरू प्रतिवादी रहेको ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा माया राइ फरार थिइन्। अनुसन्धानकै क्रममा उनलाई पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।”
राइ हाल प्रहरी हिरासतमा छन् भने उनीमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। सांसद राइ पक्राउ परेपछि यो विषयले राजनीतिक वृत्तमा पनि चासो बढाएको छ।
संसद सचिवालयले पनि प्रहरीबाट आएको जानकारी औपचारिक रूपमा दर्ता गरेको जनाएको छ।
