काठमाडौं – श्रद्धा, भक्ति र सम्मानले भरिएको मातातीर्थ औँसी आज देशभर मनाइँदैछ। मातृ प्रेमको अनुपम प्रतीकका रूपमा वैशाख कृष्ण औँसीको दिन जन्मदिने आमाप्रति कृतज्ञता प्रकट गर्दै आमाको मुख हेर्ने, मिष्ठान्न खुवाउने र आशीर्वाद लिने परम्परा रहेको छ।
धर्मशास्त्रविद् डा. वासुदेव कोइरालाका अनुसार, बिहानै स्नान गरी आमालाई उपहार र स्वादिष्ट परिकार अर्पण गर्ने चलन यस दिनको विशेषता हो। आमा दिवंगत भएका सन्तानले भने आमाको सम्झनामा श्राद्ध गरी पुण्य कमाउने परम्परा निभाउने गर्छन्।
यद्यपि आमाप्रति सम्मान व्यक्त गर्न कुनै विशेष दिन पर्खिनु नपर्ने भनिए पनि, सांस्कृतिक संस्कार अनुसार आजको दिन विशेष महत्व राख्दछ। “जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा महान् हुन् भन्ने शास्त्रीय भनाइले आजको दिनलाई अझै गहिरो अर्थ दिएको छ,” डा. कोइराला बताउँछन्।
घर टाढा रहेका धेरैले घर फर्केर आमा भेट्ने प्रयास गर्ने गरेका छन् भने टेलिफोन र सामाजिक सञ्जालमार्फत समेत आमाप्रति श्रद्धा व्यक्त गर्ने परम्परा बढ्दो छ। आमाको तस्वीर सेयर गर्दै शुभकामना र कृतज्ञता प्रकट गर्ने चलन पछिल्ला वर्षमा निकै लोकप्रिय बनेको छ।
यसै अवसरमा काठमाडौंको थानकोटस्थित मातातीर्थमा दिवंगत आमाको सम्झनामा भव्य मेला लागेको छ। शनिबार साँझदेखि नै दीप प्रज्वलन गरी जाग्राम बसेका भक्तजनहरूले बिहान सबेरै स्नान गरी पूजाआजा गरेका छन्। त्यहाँ रहेको पवित्र कुण्डमा स्नान गरेमा दिवंगत आमाप्रति तिर्नुपर्ने ऋणबाट मुक्ति मिल्ने विश्वास रहिआएको छ।
त्यसैगरी चन्द्रागिरि नगरपालिकाले मातातीर्थ औँसीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। भक्तपुरमा नेवार समुदायले पनि हनुमानघाटमा पुगेर श्राद्ध र तर्पण गरी दिवंगत आमाप्रति श्रद्धा व्यक्त गर्ने परम्परा निभाएका छन्।