+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

आतंकवादविरुद्ध विश्वव्यापी एकता आवश्यक : मन्त्री भण्डारी

जनवाच
१० घण्टा अगाडी

महोत्तरी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले आतंकवाद मानव सभ्यताका लागि गम्भीर चुनौती बनेको भन्दै यसको अन्त्यका लागि विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन्। महोत्तरीको गौशालामा आयोजित एक कार्यक्रममा उनले भारतको जम्मु कश्मीरमा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका २४ नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आतंकवादविरुद्ध साझा लडाइँ अपरिहार्य भएको बताए।

“आतंकवादविरुद्ध धर्म, वर्ग, जात र लिंगको भेद नगरी सबैले एकताको सूत्रमा बाँधिनुपर्ने समय आएको छ,” मन्त्री भण्डारीले भने। उनले भारतीय सरकारसँग आक्रमणमा संलग्न दोषीहरूलाई कडा कारवाही गर्न माग गरे।

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भण्डारीले मधेश आन्दोलनको स्मरण गर्दै भने, “विश्वमै मधेश आन्दोलन जस्तै ठूलो र लामो संघर्ष अरू कुनै छैन।” मधेश आन्दोलनका सहिदहरूले देखाएको सपना अझै अपूरा रहेको उल्लेख गर्दै उनले त्यसलाई पुरा गर्न लोकतान्त्रिक समाजवादी पार्टी नै सक्षम शक्ति रहेको दाबी गरे।

आगामी निर्वाचनका लागि ‘मिशन ८४’ अभियान सुरु गर्ने घोषणा गर्दै भण्डारीले पार्टी एक्लै चुनावमा होमिने स्पष्ट संकेत गरे। उनले मधेशको नाम भजाएर मत तान्ने तर मधेशका हकहितका सवालमा धोका दिने नेताहरूलाई समेत कटाक्ष गरे।

युवा रोजगारीका विषयमा बोल्दै मन्त्री भण्डारीले हरेक वर्ष लाखौँ नेपाली श्रमिक विदेश जान बाध्य भइरहेको यथार्थ औँल्याए। “विदेशिने युवालाई सहज ऋण, श्रम सम्झौताको सहजीकरण र रोजगारसम्बन्धी सटीक जानकारी दिन स्थानिय तहमा व्यवस्था मिलाइँदैछ,” उनले जानकारी गराए।

उनका अनुसार अब रोजगार सूचना केन्द्रलाई थप व्यवस्थित गरी देश तथा विदेशका रोजगारीका अवसरहरू नागरिक एपमार्फत सहजै उपलब्ध गराउने तयारी मन्त्रालयले थालेको छ। “केही महिनाभित्रै नयाँ प्रणाली लागू हुनेछ,” भण्डारीले आश्वासन दिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ