+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

सरकारको काम देख्न नसक्नेहरू नैतिकता नभुल्नुस् : मन्त्री दाहाल

जनवाच
१३ घण्टा अगाडी

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षी दलप्रति कटाक्ष गर्दै राजनीतिमा नैतिकता नछोड्न आग्रह गर्नुभएको छ।

शनिबार झापा–काठमाडौं सम्पर्क मञ्चले च्यासलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा मन्त्री दाहालले सरकारलाई असफल देखाउने नकारात्मक प्रवृत्तिको आलोचना गर्नुभयो। “सरकार बाहिर बसेर भ्रम फैलाउने, प्रधानमन्त्री र मन्त्रीविरुद्ध अनर्गल प्रचार गर्ने कामले नैतिकता गुमाउँछ,” मन्त्री दाहालले भन्नुभयो, “गणतन्त्र र व्यवस्थालाई नै प्रश्न गर्ने काम अन्ततः जनताको अपमान हो।”

कार्यकर्तालाई ‘मिशन ८४’ को नाममा केवल नारावाजीमा सीमित नभई जनताको बीचमा पुगेर सरकारले गरेका काम र उपलब्धि सुनाउन आग्रह गर्दै मन्त्री दाहालले भौतिक पूर्वाधार क्षेत्रमा देखिएको प्रगतिबारे जानकारी दिनुभयो।

उहाँले पूर्व–पश्चिम राजमार्गलाई एशियाली मापदण्डअनुसार स्तरोन्नति गर्ने काम तीव्र गतिमा अगाडि बढेको, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग र मध्यपहाडी राजमार्गमा उल्लेखनीय प्रगति भएको र आगामी दशैंअघि आधुनिक सुरुङ मार्ग सञ्चालनमा आउने तयारी रहेको उल्लेख गर्नुभयो।

“उत्तर–दक्षिण करिडोरका सडकले दुर्गम क्षेत्रलाई सडक सञ्जालमा जोड्न सफल भएका छन्,” मन्त्री दाहालले भन्नुभयो, “यी कामहरू जनतासामु पुर्‍याउन जरुरी छ।”

झापा–काठमाडौं सम्पर्क मञ्चका कार्यवाहक अध्यक्ष मनोज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका अन्य नेताहरूले पनि सृजनशील र सकारात्मक राजनीतिका लागि आग्रह गर्दै कार्यकर्तालाई संगठन विस्तार र जनसम्पर्क सुदृढ बनाउन निर्देशन दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ