+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

बौद्धिक सम्पत्ति सुरक्षामा नीतिगत सुधारको आवश्यकता : मन्त्री भण्डारी

नेपालमा मौलिक सिर्जना, कला र ज्ञानको जगेर्ना तथा प्रवर्द्धन गर्न बौद्धिक सम्पत्ति सुरक्षामा कानुनी सुधार र जनचेतना अभिवृद्धि अत्यावश्यक रहेको सम्बन्धित सरोकारवालाहरूको साझा निष्कर्ष बनेको छ।

जनवाच
१३ घण्टा अगाडी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा बौद्धिक सम्पत्ति संरक्षणका लागि नीतिगत सुधार अत्यावश्यक रहेको धारणा राख्नुभएको छ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले मौलिक कला, संस्कृति, संगीत र सिर्जनालाई संरक्षण र प्रवर्द्धन नगरी राष्ट्रिय पहिचान सुरक्षित गर्न नसकिने उल्लेख गर्नुभयो। “नेपालका मौलिक र सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हाम्रो साझा दायित्व हो,” मन्त्री भण्डारीले भन्नुभयो, “प्रतिलिपि अधिकारको उल्लङ्घन गर्नेहरूमाथि सरकारले कडा कारबाही गर्नेछ।”

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले बौद्धिक सम्पत्ति दुरुपयोगबारे जनचेतनाको कमी नै मुख्य समस्या रहेको औंल्याउँदै यस क्षेत्रमा लागू भएका पुराना कानुनहरू संशोधन गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको सक्रियता आवश्यक रहेको बताउनुभयो। उनले ट्रेडमार्क तथा पेटेन्टसम्बन्धी विवाद समाधानका लागि सरल, छरितो र प्रभावकारी प्रक्रियाको माग गर्नुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले नेपाली लोककला, मौलिक ज्ञान र सिर्जनालाई संरक्षण तथा प्रवर्द्धन गर्दै आर्थिक विकासमा योगदान गर्न सकिने धारणा राख्नुभयो। उहाँले बौद्धिक सम्पत्तिलाई सबै क्षेत्रसँग जोडिएको साझा चासोको विषयका रूपमा लिएर सरकार र निजी क्षेत्र दुवैले पहल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले बौद्धिक सम्पत्ति व्यवस्थापन र संरक्षणमा प्रशासनिक सहजता ल्याउन एकीकृत दर्ता प्रणाली लागू गरिएको जानकारी दिनुभयो। उहाँले चेतना अभाव र कानुनी जटिलताले गर्दा अझै चुनौती कायम रहेको स्वीकार गर्नुभयो।

सन् २००१ देखि विश्व बौद्धिक सम्पत्ति संगठन (WIPO) को पहलमा हरेक वर्ष विभिन्न नारासहित मनाइँदै आएको विश्व बौद्धिक सम्पत्ति दिवसले, बौद्धिक सम्पत्तिको संरक्षण र प्रवर्द्धनमा जनचेतना फैलाउने अभियानलाई सशक्त बनाइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ