काठमाडौंसंयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधान तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयान दुईदिने छोटो तर महत्वपूर्ण भ्रमणमा मंगलबार राति काठमाडौं आइपुगेका छन्। त्रिभुवन विमानस्थलमा उनलाई श्रममन्त्री शरतसिंह भण्डारीसहित उच्च अधिकारीहरूले स्वागत गरे। युएई मन्त्रीको भ्रमणलाई नेपालले श्रम सम्बन्ध सुधारदेखि रणनीतिक लगानी आकर्षण को अवसरको रूपमा लिएको देखिएको छ। भेटवार्ताका क्रममा नेपालले युएईलाई जलविद्युत, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको आग्रह गर्ने तयारी गरेको छ। साथै, युएईमा कार्यरत करिब ५ लाख नेपाली श्रमिकको सुरक्षा, पुनःस्थापना तथा घरेलु कामदारका रूपमा नेपाली महिलालाई लैजाने विषयमा पनि प्राथमिकताका साथ छलफल हुने बताइएको छ। भेटवार्ता मार्फत सम्वन्ध विस्तार उपप्रधानमन्त्री नाहयानले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा र सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। स्रोतका अनुसार, भेटमा दुवै देशबीच दीर्घकालीन आर्थिक साझेदारी को खाका तयार पार्ने विषयमा पनि कुराकानी हुने सम्भावना छ। यूएई मन्त्रीसँगै आएको प्रतिनिधिमण्डलमा परराष्ट्र राज्यमन्त्री, ऊर्जा तथा दिगोपन मामिलाका सहायक मन्त्री, आर्थिक तथा व्यापार मामिलाका अधिकारी लगायत नेपालका लागि युएईका राजदूतसमेत छन्। नेपाल–यूएईबीच सन् २०१९ को श्रम समझदारीअनुसार हालसम्म श्रमिक ओसारपसार भइआएको छ। गत वर्ष मात्र २ लाख नेपालीले यूएई जान श्रम स्वीकृति लिएका थिए। यसपटकको भ्रमणलाई त्यो समझदारी पुनःसमीक्षा गर्ने मौका पनि मानिएको छ।