काठमाडौं – पृथ्वी दिवसको अवसर पारेर ग्लोबल आइएमई बैंक लिमिटेडले हरित प्रविधिमा लगानीलाई प्रोत्साहन गर्न ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक गरेको छ। ऊर्जा आत्मनिर्भरता र वातावरणीय संरक्षणलाई मुख्य लक्ष्य बनाइएको यो योजनाले औद्योगिक तथा व्यावसायिक भवनहरूमा सोलार प्रणाली जडानमा प्रत्यक्ष सहयोग पुर्याउनेछ। बैंकका अनुसार यस योजनाको उद्देश्य नविकरणीय ऊर्जाको पहुँच विस्तार, जलविद्युतमा निर्भरता कम गर्दै ऊर्जा सुरक्षामा योगदान, र ऊर्जा खपत घटाएर वातावरणमा पर्ने प्रभाव न्यून गर्ने रहेको छ। होटल, अस्पताल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्था जस्ता उत्पादनमूलक क्षेत्रहरूलाई लक्षित गरी योजना ल्याइएको हो। ग्लोबल आइएमई बैंकले जलवायु संकटको सन्दर्भमा आर्थिक क्षेत्रको भूमिकालाई थप जिम्मेवार बनाउँदै रुफटप सोलार कर्जा योजना अघि सारेको जनाएको छ। बैंकले यो योजनामार्फत दिगो विकास लक्ष्यहरूमा प्रत्यक्ष टेवा पुर्याउने विश्वास लिएको छ। नेपालभरका ७७ वटै जिल्लामा शाखा विस्तार गरिसकेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो राष्ट्रियस्तरको वाणिज्य बैंक हो। हालसम्म बैंकले ३५४ शाखा, ३८५ एटिएम, २२१ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन काउण्टर, ३ वटा विदेशी प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकलाई हालै मात्रै ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ द्वारा नेपालकै उत्कृष्ट बैंक घोषित गरिएको हो। त्यस्तै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूबाट बैंकले विविध विधामा पुरस्कार तथा सम्मान प्राप्त गर्दै आएको छ। ग्लोबल आइएमई बैंकले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेशिया, कोरिया, जापान, साउदी अरब, कतार, यूएई लगायतका देशहरूबाट रेमिट्यान्स भित्र्याउने सेवा प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ।