काठमाडौँ, वैशाख ९ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको राजीनामा पछाडि कुनै राजनीतिक असहमति वा अन्तरद्वन्द्व नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा शुद्ध रूपमा स्वास्थ्यसँग जोडिएको कारणले आएको स्पष्ट पारेका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भट्टराईको राजीनामालाई लिएर भ्रामक प्रचार र राजनीतिक गन्ध मिसाइएको विषयहरूबारे असन्तुष्टि जनाए।
उहाँले भने, “उहाँ (भट्टराई) मैले बनाएको मन्त्री हो, सिकाइरहेको छु, जिम्मेवारी दिइरहेको छु। अहिले स्वास्थ्यले साथ नदिएपछि उहाँले राजीनामा दिनुभयो, यो कुनै असहयोग वा असहमतिको विषय होइन।”
भट्टराईको राजीनामा सार्वजनिक भएलगत्तै मन्त्रालयमा असहयोग, निर्णय प्रक्रियामा उपेक्षा लगायतका विषयमा चर्चा हुन थालेको थियो। यस्ता अड्कलबाजीहरूलाई प्रधानमन्त्री ओलीले “अनावश्यक र तथ्यविहीन” भनी खण्डन गरे।
उहाँले थपे, “ठूलो मन्त्रालयको जिम्मेवारी लिएर काम गरिरहनु भएको थियो, तर स्वास्थ्य कारणले उहाँले विश्राम चाहनु भयो, यति कुरालाई अनावश्यक रूपमा राजनीतिक रंग दिनु गलत हो।”
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बैंकक स्वास्थ्य जाँच यात्रालाई लिएर पनि सरकार ढल्छ भन्ने हल्ला फैलिन थालेको टिप्पणी गरे। उहाँले स्पष्ट रूपमा सम्झौताबमोजिम १५ महिनापछि प्रधानमन्त्रीको जिम्मेवारी देउवालाई हस्तान्तरण गरिने कुरा दोहोर्याउँदै अहिलेको सरकार स्थिर रहेको संकेत दिए।
लेखकको बारेमा

प्रतिक्रिया