+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

नेपालका विद्यार्थीको कोडिङ क्षेत्रमा ऐतिहासिक सफलता: अन्तर्राष्ट्रिय स्तरमा चम्किए

आईसीटी फ्रेम म्यागजिनकी अध्यक्ष मीना अर्यालका अनुसार कोडिङ प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई नेपालको प्रविधि नेतृत्वकर्ता उत्पादन गर्ने आधार हो। उनले यस्ता कार्यक्रमहरू निरन्तर हुनुपर्नेमा विशेष जोड दिइन्।

जनवाच
३ हप्ता अगाडी

काठमाडौं । प्रविधि क्षेत्रमा नेपाली विद्यार्थीको प्रतिभा दिनप्रतिदिन निखारिँदै गएको छ। हालै सम्पन्न ‘इन्टरनेसनल कोडिङ कम्पिटिसन २०२४’ मा नेपाली विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सफल भएका छन्। प्रतियोगिता दुरशिक्षा एजुकेशन नेटवर्कको आयोजनामा डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेक इन्डियाको सहकार्यमा सम्पन्न भएको थियो।

नेपालसहित भारत, हङकङ, मध्यपूर्व, यूके, अमेरिका, अष्ट्रेलिया लगायतका विभिन्न देशका विद्यार्थी सहभागी प्रतियोगितामा नेपालबाट ९ जना विद्यार्थी अन्तिम चरणमा छनोट भएका थिए।

नेपाली विद्यार्थीको शानदार उपलब्धि जुनियर ब्लक-आधारित कोडिङतर्फ एक्सेल्सियर स्कुलका कक्षा ४ का विद्यार्थी विनायक पंगेनीले ग्लोबल दोस्रो स्थान हासिल गरे। सिनियर ब्लक-आधारित कोडिङमा मेरिडियन इन्टरनेसनल स्कुलका कक्षा ५ का विद्यार्थी श्रेयश खड्गीले ग्लोबल दोस्रो स्थान प्राप्त गरे। पाइथन कोडिङ विधामा हाई न्यू भिजन एकेडेमीका कक्षा ८ का विद्यार्थी कृष्ण रिजालले प्रथम स्थान हासिल गर्दै नेपालको प्रविधि क्षेत्रमा गौरव थपे।

विद्यार्थीहरूको सम्मानमा विशेष कार्यक्रम विजयी विद्यार्थीहरूको सम्मानार्थ दुरशिक्षाले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा विद्यार्थीका अभिभावक, विद्यालयका प्रधानाध्यापक तथा विशिष्ट अतिथिहरूलाई निमन्त्रणा गरिने दुरशिक्षा एजुकेशन नेटवर्कका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डेले जानकारी दिए।

प्रतियोगिताको महत्त्वपूर्ण योगदान नेपालमा डिस्कभरी एजुकेसन यूके, एडुटेक इन्डियासँग सहकार्य गरी दूरशिक्षाले प्रतियोगिताको अनलाइन तथा भौतिक चरण सञ्चालन गरेको थियो। प्रतियोगितामा ४०० भन्दा बढी विद्यार्थीले अनलाइन माध्यमबाट परियोजना पेश गरेका थिए। अन्तिम चरणका लागि ८० जना छनोट भए, जसबाट ९ जना विद्यार्थीले ग्लोबल प्रतिस्पर्धामा स्थान सुरक्षित गरे।

प्रतियोगिताले विद्यार्थीहरूलाई कोडिङमा दक्षता हासिल गर्न, सिर्जनात्मक सोच विकास गर्न र समस्याको समाधान गर्ने क्षमतामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ।

नेपालका विद्यार्थीहरूका लागि कोडिङ: उज्ज्वल भविष्यको संकेत नेपालमा विद्यालय स्तरमै प्रविधिसँग सम्बन्धित विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको दुरशिक्षाले यस्तो प्रतियोगिताले प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूको सीपलाई विश्वव्यापी स्तरमा उभ्याउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

क्यान महासंघ नेपालकी अध्यक्ष सुनैना पाण्डेले नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नु गौरवको विषय भएको बताइन्। ‘डिजिटल युगका भावी नेतृत्वकर्ताहरूलाई उत्कृष्टता हासिल गर्न प्रोत्साहन गर्न यस्ता प्रतियोगिताहरू महत्त्वपूर्ण छन्,’ उनले भनिन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञ एवम् सीएसआरआई नेपालका अध्यक्ष डा. शालिग्राम पराजुलीले प्रविधि क्षेत्रमा अनुसन्धान र नवीनतालाई प्राथमिकता दिँदै विद्यालयस्तरबाटै रचनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ