काठमाडौं– २ अर्ब ९६ लाख रुपैयाँभन्दा बढीको अवैध कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। यी व्यक्तिहरूलाई बूढानीलकण्ठ नगरपालिका-३ देउला टोल स्थित एक घरमा अनलाइन जुवा र अभौतिक मुद्राको कारोबार गर्ने क्रममा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहरा अनुसार, १२ चैतको साँझ सवा ५ बजे प्रहरी टोलीले जुवा खेलाउने कार्यमा संलग्न ११ जनालाई पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा ती व्यक्तिहरूले अनलाइन जुवा (सट्टेबाजी) सञ्चालन गर्दै २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको पुष्टि भएको छ। साथै, ९६ लाख ३३ हजार रुपैयाँभन्दा बढीको क्रिप्टोकरन्सीको कारोबार गरेको तथ्य समेत उजागर भएको छ।
पक्राउ परेका व्यक्तिहरू भारतीय राजस्थान राज्यका विभिन्न जिल्लाबाट आएका छन्। उनीहरूको साथबाट मोबाइल फोन, ल्यापटप, अभिलेख राखिएको कापी, चेकबुक, एटीएम कार्ड र सिम कार्ड लगायतका सामग्री बरामद गरिएको छ।
यस घटनामा संलग्न आरोपितहरूको प्रारम्भिक अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ।