काठमाडौँ । बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खान फेरि प्रेममा परेको खबर बाहिर आएको छ । ६० औं जन्मदिनको अवसर पारेर आमिरले आफ्नी नयाँ प्रेमिका गौरी स्प्रेटबारे खुलासा गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आमिर अहिले बेंगलुरुकी गौरी स्प्रेटसँग प्रेममा छन् । गौरी एक पेशेवर हेयरस्टाइलिस्ट हुन्, साथै आमिरको प्रोडक्सन हाउसमा पनि काम गर्छिन् । २५ वर्षको मित्रता, १८ महिनाको प्रेमआमिर र गौरीको मित्रता झण्डै २५ वर्ष पुरानो हो, तर उनीहरूको प्रेमसम्बन्ध १८ महिनादेखि मात्रै सुरु भएको हो । खास कुरा त के छ भने गौरी विवाहित थिइन् र उनको एक ६ वर्षीय छोरा पनि छन् । आमिरले आफूलाई एक्लै बस्न मन नपर्ने र अहिले गौरीसँग खुसी भएको बताएका छन् । उनले गौरीलाई फिल्म उद्योगका लागि तयार गरिरहेका छन् भने उनको सुरक्षाका लागि विशेष गार्डसमेत राखेका छन् । आमिरले गौरीलाई बलिउडका सुपरस्टारहरू शाहरुख खान र सलमान खानसँग पनि परिचय गराइसकेका छन् । अब हेर्न बाँकी छ, यो प्रेमसम्बन्ध विवाहमा परिणत हुन्छ कि नयाँ मोड लिन्छ !