काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणीले आगामी फिल्म डन-३ बाट बाहिरिएको खबर सार्वजनिक भएको छ । परिवारलाई प्राथमिकता दिने निर्णय गर्दै उनले यो परियोजना छोड्ने निर्णय गरेकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार कियारा अहिले फिल्म वार २ र टक्सिक को छायांकनमा व्यस्त छिन् । यी प्रोजेक्टहरू पूरा गरेपछि उनले केही समय अभिनयबाट टाढा रहँदै परिवारका लागि समय दिने योजना बनाएकी छिन् । यही कारणले गर्दा उनले फरहान अख्तर निर्देशित डन-३ बाट हात झिकेकी हुन् । कियाराको निर्णयलाई फिल्मका निर्माताहरूले सम्मान गर्दै डन-३ का लागि नयाँ अभिनेत्रीको खोजी सुरु गरिसकेको जनाइएको छ । कियाराले हालै सामाजिक सञ्जालमार्फत आफ्नो गर्भवती भएको खबर सार्वजनिक गरेकी थिइन् । उनले पोस्ट गरेको तस्वीरमा “हाम्रो जीवनको सबैभन्दा सुन्दर उपहार आउँदैछ” भन्ने भावनात्मक क्याप्सन लेखेकी थिइन् । डन-३ मा अभिनेता रणवीर सिंह प्रमुख भूमिकामा देखिँदैछन् भने विक्रान्त मेश्सी खलपात्रको भूमिकामा रहनेछन् । फिल्मको छायांकन यस वर्षको अन्त्यतिर सुरू गर्ने योजना थियो, तर कियाराले बाहिरिएपछि अब यो फिल्म थप ढिलाइ हुन सक्ने बताइएको छ । यसअघि डन फ्रेन्चाइज को पहिलो संस्करणमा अमिताभ बच्चन, दोस्रो संस्करणमा शाहरुख खानले डनको भूमिका निर्वाह गरेका थिए ।