+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

विद्यार्थीले इमानदारिताका साथ ज्ञानको उपयोग गरे मात्रै समाज लाभान्वित हुन्छ : प्रधानमन्त्री ओली

जनवाच
२ महिना अगाडी

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित विद्यार्थीहरूलाई इमानदारिताका साथ ज्ञानको सही उपयोग गर्न आग्रह गरेका छन्। उनले नेपाललाई ज्ञान, दर्शन, योग र अनुसन्धानको धरोहर मुलुकको रूपमा चित्रित गर्दै विद्यार्थीहरूले समाज र देशको हितमा काम गर्नुपर्नेमा जोड दिए।

पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र नैतिक मूल्यलाई प्राथमिकता दिएर समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताए। उनले भने, “इमानदार भएर प्रयोग गरिएको ज्ञान मात्र सार्थक हुन्छ। बेइमानीबाट प्राप्त सफलता समाजका लागि उपयोगी हुँदैन।”

प्रधानमन्त्री ओलीले युवाहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे। उनले थपे, “तपाईंहरूले राम्रो अध्ययन गर्नुभएको छ भने त्यो ज्ञानलाई चोरी, ठगी वा नकारात्मक कार्यमा होइन, समाजको हितमा लगाउनुहोस्। नागरिक सर्वोच्चताको गर्व तपाईंहरूमा हुनुपर्छ।”

प्रधानमन्त्री ओलीले नेपाल सानो देश भएको हिनताबोध राख्नु नपर्ने उल्लेख गर्दै कुनै पनि राष्ट्रको सार्वभौमसत्ता क्षेत्रफलले नापनुपर्ने कुरा होइन भन्ने स्पष्ट गरे। उनले युवाहरूलाई साहसी बन्न प्रेरित गर्दै भने, “हात्ती देख्नेबित्तिकै भाग्ने होइन, बरु त्यसलाई तालिम दिएर माउते बन्ने कोसिस गर्नुपर्छ।”

उनले नेपालका उर्बर भूमिहरूलाई रुपान्तरणकारी विकासमा प्रयोग गर्न विश्वविद्यालयहरूले अग्रसरता लिनुपर्ने बताए। “हामीसँग सम्भावनाहरू प्रशस्त छन्। विश्वविद्यालयहरूले अनुसन्धानमार्फत विकासको मार्ग खोल्नुपर्छ, सरकार सदैव विश्वविद्यालयको साथमा छ,” ओलीले भने।

दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले विभिन्न संकायका सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गरे। साथै, उनले उत्कृष्ट विद्यार्थीहरूलाई कुलपति पदकबाट सम्मानित गर्दै आगामी दिनमा उनीहरूबाट मुलुकको समृद्धिमा योगदानको अपेक्षा व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ