काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको अधिकतम उपयोग गर्दै देशको उत्पादन र पूर्वाधार विकासमा तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधि (आईटी) र नवप्रवर्तन (इनोभेशन) लाई विकासको प्रमुख साधनका रूपमा प्रयोग गरिने बताए।
‘कम खर्च, बढी उत्पादन’
उनले प्रविधिको प्रयोगबाट कम लागतमा उच्च उत्पादन र प्रभावकारी विकास गर्न सकिने धारणा व्यक्त गरे। ‘हामी प्रविधिको प्रयोग गर्दै विकास निर्माणको गति तीव्र बनाउँछौं। उत्पादनमा वृद्धि ल्याउँछौं। सुविधासम्पन्न नेपाल निर्माण गर्छौं,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले आत्मनिर्भर बन्नुपर्नेमा पनि जोड दिए। ‘हामी सक्षम छौं, आत्मनिर्भर बन्न सक्छौं। कुनै पनि देश बाहिरबाट आएर हामीलाई बनाइदिँदैन। हामीले नै आफ्नै बलबुताले समृद्ध नेपाल निर्माण गर्नुपर्छ,’ उनले स्पष्ट पारे।
उनको भनाइले प्रविधिको नवप्रयोग गर्दै दिगो विकास र आर्थिक समृद्धितर्फ सरकार केन्द्रित हुने संकेत गरेको छ।