+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

जितको नजिक पुगेर चुक्यो नेपाल, ऐतिहासिक लक्ष्य पछ्याउँदा मात्र दुई रनले हार

जनवाच
५ घण्टा अगाडी

काठमाडौँ – विश्वकप लिग–२ मा नेपालले स्कटल्याण्डविरुद्ध ऐतिहासिक रन लक्ष्य पछ्याउने प्रयास गरे पनि अन्त्यमा २ रनले पराजय बेहोर्नु पर्‍यो।

फोर्टहिल क्रिकेट मैदानमा भएको यो खेल नेपालको एकदिवसीय इतिहासकै उच्च योगफल ३२१ रन भए पनि नतिजा जितमा रूपान्तरण हुन सकेन। स्कटल्याण्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालको इनिङ्स रोमाञ्चक अन्त्यमा पुगेर थामियो।

नेपालको पक्षमा अन्तिम ओभरमा ७ रन आवश्यक थियो। क्रिजमा रहेका अलराउन्डर करण केसी र बलर सन्दीप लामिछानेले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। पहिलो बलमै करणले दुई रन लिएका थिए, तर त्यसपछिका बलमा आवश्यक रन बनाउन असफल भए।

नेपालका लागि भिम सार्की ले ८५ बलमा आठ चौकासहित ७३ रन, सोमपाल कामी ले ४४ बलमा ६७ रन र दीपेन्द्र सिंह ऐरी ले ५६ रनको योगदान दिएका थिए।

नेपालले बलिङमा अपेक्षित दबाब सिर्जना गर्न सकेन। स्कटल्याण्डका बेरिङ्टन ले १०२ रनको शतकीय इनिङ्स खेले भने लिस्क ले ९६ रनमा अविजित रहँदै नेपालमाथि दबाब बनाइरहे। चार्ली टियर ले पनि ६८ रनको योगदान दिए।

नेपालका तर्फबाट करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए भने ललित नारायण राजवंशीले १ विकेट मात्र लिन सके।

यो हारपछि नेपालले १५ खेलमा १० अंक जोड्दै लिग–२ को तालिकामा सातौं स्थानमै यथावत रह्यो। स्कटल्याण्ड भने १९ खेलमा २४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ।

नेपालले यसअघि स्कटल्याण्डलाई पहिलो खेलमा रोमाञ्चक एक विकेटले हराएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।

लिग २ को संरचना अनुसार, कुल ९ सिरिजअन्तर्गत ३६ खेल खेलिने छन्। शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट चरणमा सिधै स्थान बनाउने छन्, जबकि तल्लो चार टोलीलाई प्लेअफ खेल्नुपर्नेछ।

यसरी आजको हारले नेपाललाई स्तब्ध तुल्याए पनि उत्कृष्ट ब्याटिङ प्रदर्शनले केही आशा अझै बाँकी राखेको छ। अबको प्रत्येक खेल नेपालका लागि निर्णायक सावित हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ