काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बैज्ञानिकको विदेश पलायन रोक्नु पर्ने बताएका छन् । ललितपुरमा आज आयोजित राष्ट्रिय कृषि प्राविधिक कार्य समुह बैठकलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले भने, ‘कृषि अनुसन्धानमा काम गर्ने बैज्ञानिकहरुको विदेश पलायन हुने अवस्था रोकिएको छैन । नेपालमै काम लाग्ने बैज्ञानिकहरुलाई स्वदेशमै रहन सक्ने वातावरण वनाउन जरुरी छ ।’
बैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न आफुले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले नार्कमा धेरै वर्षदेखि नसुल्झेको जटिलताहरु सुिल्झदै गएको र समस्या समाधान गर्ने ध्यान दिएको बताए ।
मन्त्री अधिकारीले बैज्ञानिक एस १ , एस २ को समस्या समाधान भएको र समकक्षताको समस्या समाधान गर्न पनि समिति गठन भैसकेको उल्लेख गरे ।
कृषि अनुसन्धान प्रणालीलाई व्यवहारिक वनाउन आवश्यक रहेको बताउँदै मन्त्री अधिकारीले कतिपय अनुसन्धान द्रुतगतिमा गरि नतिजा निकाल्नु पर्ने भएकाले नार्कको अनुसन्धानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
कृषि उपज आयातको ठुलो आकारले चुनौती थपेको उल्लेख गर्दे मन्त्री अधिकारीले यो चुनौतीको सामना गर्न नार्कले अन्वेषण गर्ने वालीका जातहरु पनि सोही अनुकुलको हुनु पर्नेमा जोड दिए।
‘कृषि उपजको आयातलाई कम गर्न छिमेकी देशहरुले कृषिमा गरेको प्रगतीवाट हामीले पनि सिक्न जरुरी छ, मन्त्री अधिकारीले भने, ‘कृषिमा तीनै तहको सरकारको समन्वय र सहकार्य अनिवार्य रहेको र सवैको सामुहिक प्रयासले मात्रै आयात कम गरि निर्यातको बाटोतर्फ लाग्न सकिन्छ ।’