काठमाडौं। सहकारी ठगी तथा बचत अपचलनको एकपछि अर्को मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर हुन लागेका हुन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र उनी ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । यसलगत्तै जिल्ला अदालत काठमाडौंले उनलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले उनी आज मात्र अदालतमा हाजिर हुन लगेका हुन् ।
लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा पनि मुद्दा दर्ताको तयारी भइरहेको छ ।