काठमाडौं । सोल्टी होटल लिमिटेडले प्रतावित ३६ प्रतिशत लाभांशसहित अन्य प्रस्ताव पास गर्न ५०औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आउदो पुस ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको छ।
सभामा होटलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई नगदसहित ३६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश हुनेछ । होटलले १० प्रतिशत बोनस शेयरसहित २६.८४२१ नगद गरी कुल ३६.८४२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५.२६३२ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०७९/८० मा होटलले ५ प्रतिशत बोनस शेयरसहित २६.५७८९ प्रतिशत नगद गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सभाले कम्पनीको शेयर पुँजी डेढ अर्बबाट दुई अर्ब पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ ।
त्यसैगरी सभाले गत आवको लेखापरीक्षकको प्रतिवेदनसहितका विवरणमाथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । साथै, शेयर पुँजी वृद्धि गर्ने विशेष प्रस्तावबमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिइनेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १३ देखि पुस ४ अर्थात् २२ दिन बुक क्लोज गर्नेछ । यसका आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनी सभामा सहभागी बन्न र प्रस्तावित लाभांश पाउन योग्य बन्नेछन् ।